चौध महिनाअगावै पुल निर्माण सम्पन्न

यो मुलुकमा पुलपुलेसा, सडकलगायत विकास निर्माणका काम तोकिएको समयावधि वा म्याद थप गर्दा पनि नबनेको थुप्रै उदाहरण छन् तर कैलालीमा भने पुलको निर्माण कार्य तोकिएको समयावधिभन्दा १४ महिनाअगाडि नै पूरा भएको छ । 

बर्दगोरिया गाउँपालिका–३ स्थित सेती लोकमार्गमा पर्ने काँडा खोला पुल तोकिएको समयावधिभन्दा अगाडि बनेको हो । दुई स्पानको सो पुलको लम्बाइ ८५ मिटर रहेको छ । 

२०७९ साल असार २९ गते काँडा खोला पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । २०८१ चैत १३ गतेभित्र काम पूरा गर्ने गरी एएनके कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँले ठेक्का पाएको हो ।

सो कम्पनीले माघ पहिलो साता नै पुल निर्माणको काम सम्पन्न गरेर जनप्रतिनिधि र जनताबाट वाहवाही पाएको छ । गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले माघ ४ गते भव्य समारोहकाबिच पुलको उद्घाटन गर्नुभयो । पुल बनाउने ठेकेदार मेहनती र काममा लगनशील भएकाले तोकिएको समयावधिभन्दा निकै अगाडि नै पुल निर्माण भएको वडा अध्यक्ष मनऋषि आचार्यले बताउनुभयो । 

“यही पुलसँगै ठेक्का भएको कुहिरा नदी पुलको निर्माण कार्य भर्खरै सुरु भएको छ,” वडाध्यक्ष आचार्यले भन्नुभयो, “ काँडा नदीको पुल बनाउने ठेकेदार राम्रो भएकाले हामीले अपेक्षा गरेकोभन्दा अगाडि नै काम सम्पन्न गरेका छन् ।”

More From Author

ललितपुरको नापी कार्यालयका नापी सर्वेक्षकसहित ३ जना पक्राउ

१९ वर्षकी गणित शिक्षक, २० वर्षका विज्ञान शिक्षक

Leave a Reply