काठमाडौं । आईसीसी यू–१९ विश्वकप अन्तर्गत बुधबार पाकिस्तानसँग भेट हुँदा नेपाली युवा टोली २२ वर्षपछि जित निकाल्ने योजनामा हुनेछ। यू–१९ विश्वकपमा आज बुधबार नेपाली युवा टोलीले पाकिस्तानको सामना गर्दैछ। इस्ट लन्डनको बफेलो पार्कमा हुने खेल दिउँसो १ः४५ बजे सुरु हुनेछ।
समुह डी को आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनको हार बेहोर्दा नेपालको सुपर सिक्स सम्भावना कमजोर बनेको छ। तर नेपाल आजको खेलमा पाकिस्तानलाई हराउँदै सुपर सिक्समा पुग्ने आशा जीवित राख्न चाहान्छ।
पहिलो खेलमा अफगानिस्तानमाथि १ सय ८१ रनको फराकिलो जित निकालेको पाकिस्तान नेपालविरुद्ध उच्च मनोबलका साथ मैदानमा उत्रनेछ। नेपाललाई हराएर सुपर सिक्स यात्रा निश्चित गर्ने योजनामा पाकिस्तान हुनेछ।
तर, अर्जुन कुमाल, देव खनाल, गुल्सन झा, सुवास भण्डारी र तिलक भण्डारीको जादु चले पाकिस्तानको अपराजित यात्रा रोक्न कठिन भने हुने छैन। यद्यपि नेपालले आशा गरेका कप्तान देव खनाल र सिनियर टोलीका नियमित सदस्य अलराउन्डर गुल्सन झाले पछिल्ला खेलमा अपेक्षा अनुसारको प्रर्दशन गर्न सकेका छैनन्।
पहिलो खेलमा देव न्युजिल्यान्डविरुद्ध ३६ रन बनाएर पवेलियन फर्के। अघिल्लो खेलमा देवले संयम देखाएको भए खेलको नतिजा अर्कै हुन सक्थ्यो।
सिनियर टोलीका अनुभवी खेलाडी गुल्सन सिनियर टोलीमा संकटमोचकका रुपमा चिनिन्छन्। तर युवा टोलीमा भने उनको त्यस्तो प्रर्दशन देख्न पाइएको छैन। न्युजिल्यान्डविरुद्ध गुल्सन २ रनमा नै क्याच आउट हुन पुगे।
ओपनर अर्जुन कुमाल क्रिजमा टिकेर खेल्न सक्ने क्षमता राख्छन्। उनीबाट आजको खेलमा पनि सोही अपेक्षा गरिएको छ। न्युजिल्यान्डविरुद्ध फिल्डिङमा देखिएको कमजोरीलाई आजको खेलमा सुधार गर्नुपर्ने जरुरी युवा टोलीमा छ।
उमेर समूहमा नेपाल र पाकिस्तानबीच अहिलेसम्म ६ खेलमा भेट भएको छ। ती भेटमा नेपालले एक खेलमा मात्र जित निकालेको छ। नेपालले सन् २००२ मा भएको यू–१९ विश्वकपमा पाकिस्तानलाई ३० रनले हराएको थियो। त्यो नै पाकिस्तानविरुद्धको नेपालको पहिलो जित हो। त्यसयता नेपालले पाकिस्तानलाई हराउन सकेको छैन। पाकिस्तानविरुद्ध नेपाल ४ खेलमा पराजित हुँदा १ खेल नतिजाविहीन भएको थियो।