नौगाड गाउँपालिकामा १० शैय्याको आधारभुत अस्पतालबाट ओपीडी सेवा सुरु

0
6

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा १० शैय्याको आधारभुत अस्पतालबाट ओपीडी सेवा सुरु भएको छ । नौगाड गाउँपालिका वडा नम्बर ३ बगड जामिरमा निर्माण सम्पन्न भएको १० शैय्याको आधारभुत अस्पतालबाट बुधबार (आज) देखि ओपीडी बिरामी जाँच सेवा सुरु गरिएको अहेब गोपिलाल सिंह ठगुन्नाले जानकारी दिनुभयो ।

अस्पतालमा नौगाड १ समपाङका एक जना बिरामीको पहिलो बिरामीको रुपमा उपचार गरिएको अस्पतालले जनाएको छ । राति २ बजे बोकेर ल्याएका बिरामीलाई पहिलो बिरामीको रुपमा सेवा दिइएको उहाँले बताउनुभयो । नौगाडमा आधारभूत अस्पताल सञ्चालनमा आएसंगै स्थानीय खुसी भएको दार्चुलामा संचालित अनलाइन लोकदर्पण टिभीले जनाएको छ ।

माघ ८ गते अस्पतालमा कार्यरत कर्मचारीको बैठक बसेर १० गतेदेखि ओपीडी सेवा सुरु गर्ने निर्णय गरिएको थियो । अस्पतालको औपचारिक उद्घाटन हुन बाँकी रहेको छ । आवश्यक थप व्यवस्थापन गरेर यही माघ २२ गते औपचारीक उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

गत पुस २४ गते नौगाड गाउँपालिकाको जामिरमा निर्माण भएको अस्पताल भवन निर्माण व्यवसायी केशबबहादुर पालले गाउँपालिकालाई हस्तान्तरण गर्नुभएको थियो । एक कार्यक्रमका बिच निर्माण व्यवसायी पालले गाउँपालिका अध्यक्ष दलजित सिह धामीलाई भवनको साँचो (चाँबी) हस्तान्तरण गरेपछि गाउँपालिकाले सेवा सञ्चालनको प्रकृया अगाडी बढाएको हो । गाउँपालिकामै विशेषज्ञ चिकित्सकसहितको सेवा सञ्चालनमा आउनुपर्ने स्थानीयको माग रहेको छ ।

Source : Lokdarpan TV

ad

Leave a Reply