काठमाडौं । आयुर्वेद चिकित्सक डा। चन्द्रवली शाहमाथि कुटपिट भएको छ । बिहीबार साँझ आयुर हेल्थकेयर सातदोबाटोमा कार्यरत डा. शाहलाई पाँच जनाको अज्ञात समूहले क्लिनिकभित्रै प्रवेश गरेर कुटपिट गरेको हो ।
घटनापछि सख्त घाइते भएका उनको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको नेपाल आयुर्वेद चिकित्सक संघले जनाएको छ । संघको सदस्यसमेत रहेका शाहमाथि आक्रमण गर्ने समूहलाई स्वस्थ्यकर्मी तथा स्वास्थ संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्न संघले माग गरेको छ ।
ऐनअनुसार स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई छ महिनादेखि दुई वर्षसम्म कैद र ५० हजारदेखि एकलाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । विभिन्न बहानमा यसअघि पटकपटक चिकित्सकमाथि हातपात हुँदै आएको छ ।