अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भेरिएबल फ्रिक्वेन्सी ड्राइभ (भीएफडी) खरिदमा भ्रष्टाचार गरेको निष्कर्षसहित आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले तत्कालीन महाप्रबन्धक पौडेलसहित तत्कालीन नायब महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन कामु उपनिर्देशक पवन कुमारलाल कर्ण, तत्कालीन प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत नवौं डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय प्रा. ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्लेविरुद्ध मुद्दा दायर गरेको हो ।
भीएफडी खरिदका क्रममा बिनाअध्ययन, आवश्यकताको पहिचान र औचित्यसमेत यकिन नगरी लागत अनुमानसमेत नबनाई केही उपयोग नहुने सामग्री खरिद गरेको आयोगले जनाएको छ । सामान खरिदपश्चात् गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरी निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको, खरिद गरिएको सामग्रीमध्ये १६० किलोवाटको भीएफडी प्यानल उद्योगले प्राप्त गरेको पाँच वर्षभन्दा बढी समयसम्म पनि परीक्षण नगरिएको अभियोग छ ।
‘१६० किलोवाटको २२ लाख ७८ हजार बराबरको रकम भुक्तानी गरी उद्योगलाई हानि पुर्याएको पुष्टि भएको’ आयोगले जनाएको छ । अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार बिगो असुल गरी सजाय गर्न माग गरेको छ । तत्कालीन महाप्रबन्धक पौडेललाई भने भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ बमोजिम थप सजाय हुनसमेत मागदाबी गरिएको छ ।