झापा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले झापाको मेची पुल नजिकबाट नेपाली कांग्रेसको संवाद यात्रा सुरु गरेका छन् । थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीय स्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुवात गरेको बताए ।
यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरुप यात्रा आरम्भ गरेको बताए ।
महामन्त्री थापाले यात्रा आरम्भ गर्नुअघि मेची क्याम्पस परिसरमा रहेको सहिद राम थापाको सालिकमा माल्यार्पण गर्नुका साथै क्याम्पसका शिक्षक, विद्यार्थीको समस्या बुझ्ने काम, प्रादेशिक अस्पताल भद्रपुरको नयाँ भवनको अवलोकनलगायत गरिएको बताए ।
कार्यक्रममा पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले यात्राले जनताको दुःख, दर्द र मर्मलाई बुझ्नुका साथै आफूले गरेका कमीकमजोरी पत्ता लगाउनसमेत मद्दत गर्ने बताए । पार्टीलाई बलियो बनाउन कांग्रेसलाई बदल्नु आजको आवश्यकता रहेको उनको भनाइ थियो ।
शर्माले थापालाई प्रधानमन्त्री बनाउने पनि दोहोराए । महामन्त्री शर्माले भने, ‘हाम्रो पुस्ताबाट गगन थापा नै प्रधानमन्त्री हुने हो । प्रधानमन्त्री हुने मान्छे जनताका कुरा सुन्न संवाद यात्रामा निस्कनु भएको छ । यसले नयाँ सन्देश प्रवाह गर्नेछ ।’