दार्चुला । मर्यादाक्रममा आफूभन्दा चार तह माथिका जनप्रतिनिधिलाई साक्षी राखेर दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरन जोशी सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि बनेकी छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाले माघ ४ गते आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा उनलाई प्रमुख अतिथि बनिन तर जिल्लाका जनप्रतिनिधिले भने भेउ नै पाएनन् ।
नेपाल सरकारले जारी गरेको मर्यादाक्रमअनुसार प्रजिअ ९सीडीओ० भन्दा धेरै माथि रहेका जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख, गाउँपालिका अध्यक्ष र नगरपालिका उपप्रमुख सहभागी कार्यक्रममा जोशीलाई प्रमुख अतिथि बनाइएको हो । जिल्ला प्रहरी प्रमुख शिवबहादुर सिंहले पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेका हुन् ।
आफूसहित केही प्रहरी कर्मचारी पुरस्कृत भएको पृष्ठभूमिमा आयोजित कार्यक्रममा सिंहले दार्चुलालाई देशकै अब्बल सुरक्षा व्यवस्थापनको जिल्ला बनाउने दृढतासमेत व्यक्त गरेका छन् । कार्यक्रममा जिल्ला समन्वय प्रमुख महादेव बडू कश्यप, शैल्यशिखर नगरपालिका प्रमुख विजयसिंह धामी, मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी, मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी, नौगाड गाउँपालिका अध्यक्ष दलजीतसिंह धामी, व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामी, दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल र लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी तथा महाकाली नगरपालिका उपप्रमुख दुर्गा खत्री विष्टको उपस्थिति थियोे ।
मर्यादाक्रमको ११औं नम्बरमा जिसस प्रमुख रहने व्यवस्था छ भने नगरपालिका प्रमुख १५ औं तथा गाउँपालिका अध्यक्ष र नगरपालिका उपप्रमुख १६ औं नम्बरमा रहन्छन् । सो कार्यक्रममा भने १७ औं नम्बरमा पर्ने राजपत्रांकित द्वितीय श्रेणीकी जोशीलाई प्रमुख अतिथि बनाइएको थियो । नागरिक सुनुवाइ कार्यक्रममा सहभागी जनप्रतिनिधिले आफूभन्दा पछाडिको मर्यादाक्रममा रहने प्रजिअलाई प्रमुख अतिथि बनाएकोमा जनप्रतिनिधिहरुलेसमेत आफ्नो मर्यादाक्रम सीडीओभन्दा माथी भएको थाहा नपाएको देखिएको एक जना कार्यक्रममा सहभागी कर्मचारीले बताए।
मर्यादाक्रममा आफूभन्दा पछाडि रहने प्रजिअलाई प्रमुख अतिथि बनाइएकोमा गाउँपालिका अध्यक्षहरूले पनि केही प्रतिक्रिया दिएका छैनन् ।
कार्यक्रममा सहभागी राजनीतिक दलका जिल्ला प्रमुखहरूलाई पनि आसनग्रहण र मन्तव्यमा नसमेटिएको विषयले भने व्यापक चर्चा पाएको छ । कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष ज्ञानेन्द्रबहादुर घर्ती, कांग्रेसका सचिव पुलेन्द्रबहादुर कार्की, माओवादी केन्द्रका जिल्ला नेता खडकसिंह धामी सहभागी भए पनि आयोजकले एकमुष्ट रूपमा आसनग्रहण गराएको थियोे भने राजनीतिक दलका नेताहरूको मन्तव्य समेटिएको थिएन ।