सडक डिभिजनका पूर्वप्रमुख चौधरीलाई जेल सजाय, साढे २ करोड रुपैयाँ जफत

विराटनगर । सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन प्रमुख जितेन्द्रकुमार चौधरीलाई ६ महिना कैद हुने भएको छ। उनीबाट २ करोड ४४ लाख ९३ हजार रूपैयाँ बिगो असुल गरी त्यति नै जरिवाना पनि उठाउनुपर्ने फैसला पनि विशेष अदालतले गरेको छ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका चौधरीलाई अदालतले सोमबार सजाय तोकेको हो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले माघ १ गते भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय मोरङमा कार्यरत रहँदा विभिन्न आयोजनामा ठेकेदारहरूसँग मिलेर गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

अख्तियारले २०७७ फागुन ५ मा चौधरीविरूद्ध ३ करोड ९९ लाख ४४ हजार रुपैयाँ बिगो दाबी गरेको थियो।उनले हैसियतभन्दा अमिल्दो र अस्वाभाविक खालको जीवनयापन गरेको, हैसियतभन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोरासमेतको नाममा घर जग्गा खरिद गरेको अख्तियारले फेला पारेको थियो।

उनले पदीय मर्यादाविपरीत सडकका विभिन्न आयोजनामा रहँदा ठेकेदारसँग मिलेर गैरकानुनी सम्पत्ति आर्जन गरी घर घडेरी बैंक व्यालेन्स जम्मा गरेको अख्तियारले अनुसन्धानबाट पत्ता लगाएको थियो। यो प्रकरणमा उनीसँगै श्रीमती किरण चौधरी र छोरा अभिषेक चौधरीलाई पनि अख्तियारले प्रतिवादी बनाएको थियो।

More From Author

दरबार हत्याकाण्डको छानबिन गर्छौ : प्रधानमन्त्री दाहाल

ललितपुरमा मृत भेटिएकी जर्मन महिला कुर्सीबाट लडेको आशंका

Leave a Reply