झलनाथले माधवलाई भने-त्यसो भए ठूलै पार्टी एमालेमा जानुहोस्

0
18

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र पार्टीका सम्मानित नेता झलनाथ खनालबीच जुहारी चलेको छ । केन्द्रीय परिषद्को बैठक समापन कार्यक्रममा सोमबार नेताद्वयबीच जनताको बहुदलीय जनवाद (जबज) को विषयमा सवाल–जवाफ भएको हो । खनालले जबज मान्ने भए एमालेमा नै किन नजाने भन्ने प्रश्न उठ्ने बताए ।

“कहिले हामी जबज पनि भन्छौँ, कहिले समाजवाद पनि भन्छौँ । कता जाने त ? जबजै तपाईं भन्नुहुन्छ भने त ठूलो जबजतिर किन नजाने भन्छ त मान्छेले । ठूलो जबजवाला त एमाले छ । हामीले जबज भन्यौँ भने त हामील भनेको सुन्ने भन्दा केपीले भनेको बढ्ता सुन्ने खतरा हुन्छ । हामी क्लियर हुनुपर्छ,” खनालले भने ।

जवाफमा अध्यक्ष नेपालले जबज छाडे पार्टीको पहिचान समाप्त हुने बताए । “जनताको बहुदलीय जनवादले हाम्रो पार्टीलाई नयाँ उचाइमा पुर्‍याएको छ । यसलाई हामीले छाड्यौँ भने यो पार्टीले आफ्नो इतिहास गुमाउने छ । यो पार्टीको पहिचान समाप्त हुने छ,” बैठकमा उठेको प्रश्नको जवाफ दिँदै नेपालले भने ।

त्यसो त सम्मानित नेता खनालले पार्टीको प्रस्तावित विधानको प्रस्तावनामा नै प्रश्न उठाए । उनले केन्द्रीय परिषद्को बैठकमा विधानको प्रस्तावनाको पहिलो वाक्यमा नै प्रश्न गरे । कम्युनिस्ट पार्टी श्रमजीवी वर्गको प्रतिनिधि पार्टी भएकाले आमजनता राख्न नहुने भनाइ खनालको छ ।

“नेपाल कम्युनिस्ट पार्टी भनेको श्रमजीवी वर्गको प्रतिनिधि पार्टी हो । यो एउटा वर्गको पार्टी हो । सबै वर्गको हुँदैन,” उनले भने, “आम जनताभन्दा श्रमजीवी, किसान, निम्न पुँजीपति वर्ग र निश्चित हदसम्म राष्ट्रिय पुँजीपति वर्ग पनि बुझ्छौँ ।” खनालले प्रतिनिधित्व गर्नु र प्रतिनिधि हुन फरक कुरा भएकाले त्यसलाई सच्याउनुपर्ने बताए ।

सम्मानित नेता खनालले जबजको औचित्य नरहेकाले त्यसलाई अघि बढ्न नसकिने बताउँदै आएका छन् । पार्टीको महाधिवेशनअघि नै एकैमत बनाएर जानुपर्नेमा नेताहरूको जोड छ ।

ad

Leave a Reply