काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपाल आज ९बुधबार० बंगलादेश भिड्दै छ। सुपरसिक्स अन्तर्गत मंगलबार भएका खेलमा भारत र पाकिस्तान विजयी भएसँगै सेमिफाइनल पुग्ने दौडबाट बाहिरिइसकेको नेपालको यो प्रतिस्पर्धा केवल प्रतिष्ठा र शक्ति परीक्षणका लागि हुनेछ।नेपाल र बंगलादेशबीच सुपर सिक्सको पहिलो खेल ब्लुमफोनटिनस्थित मनगाउङग ओभलमा दिउँसो पौने २ बजे सुरु हुनेछ।
बंगलादेशविरुद्ध ब्याटिङमा कप्तान देव खनाल र ओपनर अर्जुन कुमाल नेपालका मुख्य हतियार हुनेछन्।
अफगानिस्ताविरुद्ध देवले कप्तानी भुमिका पूरा गरेका थिए। ओपनर अर्जुन कुमाल पछिल्ला खेलमा चल्न नसके पनि आजको खेलमा लामो समय क्रिजमा टिक्ने आशा छ।
बलरमा नेपालका आकाश चन्द र दिपेश कँडेलमाथि धेरैको नजर हुनेछ। नेपाललाई सुपर सिक्समा पुर्याउन महत्वपूर्ण भुमिका खेलेका आकाशले पाँच विकेट लिँदै सनसनी मच्चाएका थिए। उनले विश्वकपका तीन खेलमा ८ विकेट लिएका छन्। त्यस्तै समान खेलबाट ४ विकेट लिएका दिपेशले नेपाललाई सन्तुलनमा राख्न मद्दत गर्नेछन्।
बंगलादेशका मरुफ मृदा र बलिङ अलराउण्डर महफुजुर रहमान रब्बी नेपालका लागि घातक बन्न सक्नेछन्।
समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै तेस्रो स्थानमा रहेर सुपर सिक्समा स्थान पक्का गरेको थियो।
सुपर सिक्समा नेपाल अंकविहीन रुपमा खेल्दै छ। सुपर सिक्समा प्रवेश नगरेको अफगानिस्तानलाई हराएका कारण यस खेलबाट नेपालको अंक जोडिने छैन। यद्यपि नेपालको नेट रनरेट भने जोडिनेछ । यदि नेपालले सुपर सिक्समा स्थान बनाएका पाकिस्तान र न्युजिल्यान्डमध्ये एक टोलीलाई हराएको भए नेपालको खातामा अंक जोडिने थियो।
बंगलादेशको खातामा २ अंक छ। समूह ‘ए’को उपविजेता बन्दै बंगलादेशले सुपर सिक्समा स्थान बनाएको हो। बंगलादेशले सुपर सिक्समा पुगेको आयरल्यान्डलाई हराएका कारण २ अंक जोडेको छ। समूह चरणमा बंगलादेशले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो। अर्को खेलमा अमेरिकामाथि १ सय २१ रनको फराकिलो जित निकालेको थियो।