पोखरा । ट्रयाक खुलेको २५ वर्षसम्म सडकको अवस्था नसुध्रिएपछि बागलुङ काठेखोला गाउँपालिकाका जनप्रतिनिधि नै आन्दोलमा उत्रिएका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने गाउँपालिकाभित्रको २५ किलोमिटर सडक कालोपत्रेको माग गर्दै गाउँपालिका अध्यक्ष राजु थापासहितका स्थानीय बासिन्दाले आइतबार करिब ४ घण्टा मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका हुन् ।
‘ट्रयाक खोलेको २५ वर्ष भइसक्दा पनि बाटोको अवस्था सुध्रिएन । पटकपटक डेलिगेसन गयौं, अरु आन्दोलन गर्दा पनि भएन’, गाउँपालिका प्रवक्ता टीकासंगम विकले भने, ‘अति भएपछि अध्यक्षज्यूकै नेतृत्वमा यो कदम चाल्न बाध्य भयौं ।’ सडक कालोपत्रेका लागि आफूहरुले संघीय सरकारलाई फागुन २ गतेसम्मको समय दिएको र त्यसबीचमा पनि चासो नदेखाए थप आन्दोलनका कार्यक्रम ल्याउने तयारी भइरहेको प्रवक्ता विकले बताए ।