१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

अब गुगल मिट १ घण्टा मात्रै निःशुल्क



काठमाडौं । कोरोना भाइरस महामारीको लकडाउन तथा विभिन्न खाले बन्देजका कारण विश्वका करोडौँ मानिसहरु अहिलेपनि घरबाटै आफ्नो कार्यालयको काम गरिरहेका छन् । वर्क फ्रम होमलाई सहज तुल्याउनका लागि भिडियो कन्फ्रेन्सिङ प्लाटफर्महरु निकै नै सहयोगी बनिरहेका छन् । जुमसँगै गुगलको गुगल मिट, माइक्रोसफ्ट टिम्स तथा फेसबुक मेसेन्जरको मेसेन्जर रुम्स निकै लोकप्रिय बनिरहेका छन् ।

घरबाटै काम गरिरहेका विश्वका करोडौँ कामकाजी मानिसहरुको हीतलाई ध्यानमा राख्दै कैयन् भिडियो स्ट्रिमिङ्ग प्लाटफर्महरुले निःशुल्क रुपमा अधिकतम सर्भिस प्रदान गरिरहेका छन् । सर्च इन्जिन कम्पनी गुगलले पनि आफ्नो गुगल मिट सर्भिस पूर्ण रुपमा निःशुल्क गर्दै आएको छ ।

गुगल मिटमा प्रयोगकर्ताहरुले आफुले चाहेजति समयसम्म भिडियो कन्फ्रेन्सिङ गर्न सक्दछन् । तर यस्तो अनलिमिटेड फ्रि मिटिंग्सको सुविधालाई गुगलले आगामी ३० सेप्टेम्बरबाट बन्द गर्दैछ । आउँदो सेप्टेम्बर ३० पछि गुगल मिटका निःशुल्क प्रयोगकर्ताले अधिकतम ६० मिनेटसम्म मात्र भिडियो कन्फ्रेन्सिङ गर्न पाउनेछन् ।

३० सेप्टेम्बरपछि निःशुल्क प्रयोगकर्ताहरुले एक पटकमा केवल ६० मिनेटसम्म मात्र भिडियो कल गर्न पाउनेछन् भने सशुल्क प्रयोगकर्ताहरुका लागि मात्र अनलिमिटेड भिडियो कन्फ्रेन्सिङ सुविधा प्राप्त हुनेछ ।

गत अप्रिल महिनामा गुगलले एक घोषणा गर्दै भिडियो कन्फ्रेन्सिङका लागि सबै प्रयोगकर्ताहरुले अनलिमिटेड गुगल मिट प्रयोग गर्न पाउने जानकारी गराएको थियो । विश्व कोरोना भाइरससँग अभ्यस्त बन्दै जाँदा गुगलले उक्त निःशुल्क सेवामाथि सीमा तय गर्न लागेको हो ।

यो सँगै गुगल मिटमा लामो बैठक गर्ने प्रयोगकर्ताहरुले शुल्क तिर्नुपर्ने बाध्यता हुनेछ । तर एकघण्टा भन्दा कम समयमै बैठक सकिने प्रयोगकर्ताहरुका लागि चाहिँ गुगल मिट निःशुल्क रुपमै प्रयोगमा आउनेछ ।

गुगलले निःशुल्क प्रयोगकर्ताहरुका लागि समयको पावन्दी सुरु गरेसँगै भिडियो कन्फ्रेन्सिङका सहभागीहरुको संख्यामा पनि सीमा तोक्छ कि तोक्दैन भन्ने चाहिँ प्रष्ट भएको छैन । –एजेन्सी


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय