१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

रसिया–कोरिया व्यापार २५ अर्ब डलर नजिक



एजेन्सी । रसिया र दक्षिण कोरियाबीचको द्विपक्षीय व्यापार करिब २५ अर्ब डलर बराबर पुगेको रुसी विदेश मन्त्री सर्गेई लाभरोभले बताउनुभएको छ । दक्षिण कोरियाली समाचार संस्था योनहापसँग कुरा गर्दै विदेश मन्त्री लाभरोभले रसियाका लागि दक्षिण कोरिया अहिले एउटा प्रमुख आर्थिक तथा व्यापारिक साझेदारका रुपमा उदाएको बताउनुभयो ।

उहाँले दुबै देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप विस्तार गर्नेतर्फ कार्यहरु निकै द्रुत गतिमा अगाडि बढेको बताउँदै कोरोनाभाइरसको परिस्थितिमा केही सुधार हुनासाथ रुसी राष्ट्रपतिले दक्षिण कोरियाको भ्रमण गर्ने सम्भावना रहेको बताउनुभयो ।

विदेश मन्त्री लाभरोभले कोरियाली प्रायःद्वीपमा शान्तिपूर्ण अवस्थाको निर्माण गरी उत्तर कोरिया, दक्षिण कोरिया र रसिया सम्मिलित त्रिदेशीय आर्थिक साझेदारी निर्माण गर्नुपर्ने पक्षमा रसिया रहेको बताउनुभयो ।

सन् २०१८ मा दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनको रसियाको औपचारिक भ्रमण समेतका उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा लैजान मद्दत गरेको उहाँले बताउनुभयो । दक्षिण कोरिया र रसियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ३० वर्ष पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !