१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

आईपीएलमा हैदरावादले दिल्लीलाई १५ रनले हरायो



एजेन्सी । सनराइजर्स हैदरावादले आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै जितको खाता खोलेको छ ।

हैदरावादले दिल्लीको सामु जितका लागि १६३ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो ।

राशिद खानले १४ रन खर्चेर ३ विकेट र भुवनेश्वर कुमारले २५ रन खर्चेर २ विकेट लिए ।

अन्तिम ओभरमा दिल्लीलाई जितका लागि २८ रन आवश्यक परेको थियो तर महत्वपूर्ण यो ओभरमा १२ रन मात्रै जोड्न सक्यो ।

दिल्लीको शुरुआत राम्रो थिएन । भुवनेश्वर कुमारले पहिलो ओभरमै ओपनर पृथ्वी शालाई आउट गरे । उनले केवल २ रन मात्र बनाउन सके ।

तेस्रो नम्बरमा ब्याटिङमा आएका कप्तान श्रेयस अय्यरले शिखर धवनका साथ दोस्रो विकेटका लागि ४० रन बटुले । रन बटुल्न संघर्ष गर्दागर्दै उनी आठौं ओभरमा आउट भए । उनलाई राशिद खानले पेभेलियनको बाटो देखाए । अय्यरले २१ बलमा दुई चौकाको मद्दतमा केबल १७ रन बनाए ।

१० ओभरमा दिल्लीले जम्मा ५४ रन बनाउन सकेको थियो । १२ औं ओभरमा राशिद खानले नै शिखर धवनलाई पनि पेभेलियन फर्काए । उनले ३१ बलमा चार चौकाको मद्दतमा ३४ रन बनाए ।

अप्ठ्यारोमा देखिएको दिल्लीको टिमलाई ऋषभ पन्तले सम्हाले । १३ औं ओभरमा उनले अभिषेक शर्माको बलमा दुई छक्का प्रहार गरे । शर्मालाई शिमरान हेटमायरले साथ दिएका थिए । उनले पनि १५ औं ओभरमा खलिल अहमदको बलमा लगातार दुई छक्का प्रहार गरे । यसका साथ दिल्लीले एक सय रन पूरा गर्यो ।

१५ औं ओभरमा दिल्लीको स्कोर ३ विकेटको क्षतिमा १०४ रन थियो । अन्तिम ५ ओभरमा जितकालागि ५९ रन आवश्यक थियो । १६ औं ओभरको पहिलो बलमा हेटमायरलाई भुवनेश्वर कुमारले आउट गरे । हेटमायरले १२ बलमा २१ रन जोडे ।

हेटमायर आउट भएपछि क्रिजमा आएका मार्कस स्टोइनिसले चौकाको साथमा रनको खाता खोले । १७ औं ओभरमा राशिद खानले ऋषभ पन्तलाई आउट गरे । पन्तले २७ बलमा दुई छक्का र दुई चौकाको मद्दतमा ३२ रन बटुले । राशिद खानले यस ओभरमा केबल ५ रन बनाए ।

अब दिल्लीलाई अन्तिम तीन ओभरमा ४४ रन आवश्यक थियो । १८ औं ओभरमा बलर टी नटराजन थिए । ओभरको पहिलो पाँच बलमा केबल सात रन खर्चिएका नटराजनले अन्तिम बलमा स्टोइनिसलाई आउट गरे । स्टोइनिसले केबल ११ रन बनाउन सके ।

अन्तिम दुई ओभरमा दिल्लीलाई अब ३७ रन आवश्यक थियो तर नौ रन मात्र बटुल्न सक्यो । अब अन्तिम ओभरमा जितका लागि २८ रन आवश्यक पर्यो । खलिल अहमदले तेस्रो बलमा अक्षर पटेललाई आउट गरिदिए । पटेलले केबल ५ रन बनाउन सके । दिल्लीले यस ओभरमा केबल १२ रन थप्यो र स्कोर १४७ रनसम्म मात्र पुग्यो ।

यसअघि टस हारेर ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा १६२ रनको योगफल तयार पारेको थियो । हैदरावादका कप्तान डेभिड वार्नर र जोनी बेयरस्टोले सुरुमा सम्हालिएर खेले । पहिलो पाँच ओभरमा केबल २४ रन बन्यो । बेयरस्टोले अमित मिश्राको बलमा छक्का प्रहार गरे ।

छैटौं ओभरमा एनरिज नोर्जेको बलमा एक छक्का र एक चौका प्रहार गरेर वार्नरले रन बटुल्ने संकेत गरे । यस ओभरमा हैदरावादको स्कोर ५० रन नाघ्यो ।

नवौं ओभरमा वार्नरले एक छक्का प्रहार गरे । तर यसै ओभरको तेस्रो बलमा वार्नर आउट भए । आउट हुनुअघि उनले ३३ बलमा ४५ रन जोडेका थिए । अमित मिश्राले फेरि मनिष पाण्डेलाई कागिसो रबाडाबाट क्याचआउट गराए । पाण्डेले ३ रन मात्र बनाउन सके ।

चौथो नम्बरमा ब्याटिङमा आएका विलियम्सनले १६ औं ओभरमा नोर्जेको बलमा लगातार दुई चौका प्रहार गरे । १७ औं ओभरमा उनले मार्कस स्टोइनिसको बलमा पनि लगातार दुई चौका हाने ।

१८ औं ओभरको पहिलो बलमा बेयरस्टोले दुई रन बटुलेर आफ्नो अर्धशतक पूरा गरे । पाँचौं बलमा भने रबाडाले उनलाई पेभेलियनको बाटो देखाइदिए । ४८ बल सामना गरेका बेयरस्टोले दुई चौका र एक छक्काको मद्दतमा ५३ रन बनाए । केन विलियम्सनले २० औं ओभरमा ४१ रन बनाएर रबाडाको शिकार बने । २६ बलमा उनले पाँच चौका हाने । अब्दुल समद ७ बलमा १२ रन बनाएर नटआउट रहे ।

दिल्लीका सबैभन्दा कम रन दिने बलर रबाडा रहे । उनले चार ओभरमा केबल २१ रन खर्चिएर दुई विकेट पनि लिए । अमित मिश्राले पनि चार ओभरमा ३५ रन खर्चिएर दुई विकेट लिए ।


प्रतिक्रिया दिनुहोस !