१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

विराटनगरमा दुई ठुला होटेलहरु भए सधैको लागि बन्द



विराटनगर । ४१ वर्षको इतिहास बोकेको विराटनगरको नमस्कार होटेल बन्द भएको छ । लकडाउनबाट सिर्जित समस्याबीच होटेलले आफ्नो सबै सेवा बन्द गर्ने घोषणा गर्दै बन्द भएको हो ।

यसअघि २०५५ सालमा स्थापना भएको विराटनगरको ठूलो मानिएको होटेल जेनियलले असार ११ गतेदेखि सबै सेवा बन्द गरिएको घोषणा गरेको थियो । तीन महिना नहुँदै नमस्कार होटेल पनि बन्द भएको हो । पर्यटकको कमी र पछिल्लो कोभिड १९ ले अर्थतन्त्रमा परेको नकारात्मक असरबीच विराटनगरका अन्य होटेलको सेवा र आयसमेत प्रभावित बन्‍न पुगेको छ ।

नमस्कार होटेलका सञ्‍चालन युनेश श्रेष्ठले तत्काललाई होटेलले प्रदान गर्ने प्रमुख सेवा लजिङ र फुडिङ बन्द गरेको बताएका छन । नमस्कार होटेल सञ्‍चालनमा संलग्‍न उनी तेस्रो पुस्ताका व्यवसायी हुन । युवासमेत रहेका युनेश हस्पिटालिटी व्यवसायमा संलग्‍न छन् । नमस्कार होटेलअगाडि उनैले सञ्‍चालन गरेको भ्यालेन्टाइन क्याफेले दिने सेवा भने निरन्तर चल्ने युनेशले बताए ।

नमस्कार होटेल युनेशका हजुरबुबा राजकुमार श्रेष्ठले २०३७ सालमा स्थापना गरेका थिए । उनी निर्माण व्यवसायी पनि थिए । राजकुमारको निधनपछि होटेल छोराहरु युवराज र राजनले सञ्‍चालन गरेका थिए । पछि राजनले २०५१ सालदेखि विराटनगरकै रोडशेष चोकमा होटेल स्वागतम् सञ्‍चालन गरिरहेका छन् । राजन विराटनगरका कहलिएका व्यवसायी पनि हुन् । नमस्कार होटेल युवराजले सञ्‍चालन गर्दै आएकामा २०६९ मा निधन भएपछि उनका छोरा युनेशले निन्तरता दिएका थिए ।

यसअघि २०५५ सालमा स्थापना भएको विराटनगरको ठूलो मानिएको होटेल जेनियल बन्द भएको थियो । तीन महिना नहुँदै नमस्कारले पनि बन्दको घोषणा गरेको हो । होटेल सञ्चालक हरिभक्त सिटौलाले कोभिडको असरका कारण होटेल धरासायी भएकाले सञ्‍चालन गर्नुभन्दा बन्द गर्नु नै उपयुक्त लागेको बताएका थिए ।

अहिले होटेलको संरचना रेखदेखका लागि सुरक्षा गार्ड र सफाइ कर्मचारी मात्र राखिएका छन् । जेनियलमा ४८ वटा कोठा, ३ वटा कार्यक्रम हल, २ वटा मिटिङ हल, एउटा स्विमिङ पुल र दुईवटा रेस्टुरेन्ट थिए ।- बाह्रखरीबाट


प्रतिक्रिया दिनुहोस !