Sunday, November 24, 2024
spot_img

ट्रेन्डिङ :

पक्की कुलो माग गरेको दश वर्षपछि बल्ल काम सुरु

spot_img
spot_img

पाल्पा। जिल्लाको माथागढी–५, गढबास र मनसेवा फाँटलाई सिंचाइ गर्न पक्की कुलो निर्माण सुरु भएको छ । एक खेती गर्न पनि आकाशे पानीको भर पर्नुपर्ने गढबास र मनसेवा फाँटका किसानले १२ महिना खेती गर्न सक्ने गरी पक्की कुलो निर्माण सुरु भएको हो। एक दशकदेखि सिंचाइ योजनाको माग गरिरहेका यहाँका किसान सिंचाइ योजनाको काम सुरु भएपछि खुशी भएका छन् । मनसेवा र गढबास फाँटको ११ सय रोपनी जग्गामा धान सहित वर्षमा अन्य तीन बाली खेती गर्नका लागि आफूहरूले एक दशकअघिदेखि नै योजना माग गरेको स्थानीय किसानको भनाई छ ।

एक खेती हुर्काउन पनि सिंचाइको सुबिधा थिएन मनसेवा–गढबास सिंचाइ उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर रानाले विगत सम्झिदैँ भन्नुभयो अहिले बल्ल प्रदेश सरकारको लगानीमा योजनाको काम सुरु भएको छ । सिंचाइ योजना पूरा भएपछि मनसेवा र गढबासका ७० बढी घरधुरी किसानले १२ महिना धान, तरकारी तथा अन्य खेती गर्न सहज हुने उहाँले बताउनुभयो । सिंचाई सुविधा नहुँदा आकाशको भल छोप्नुपर्ने अवस्था रहेको यहाँका किसानको भनाई छ । सिंचाइ सुविधा नहुँदा एक खेतीका लागि पनि आकाशे पानीको भल छोप्नुपर्ने अवस्था थियो स्थानीय बासिन्दा प्रेम कनौजेले भन्नुभयो योजना पूरा भएपछि आकाशको पानी कहिले पर्छ भनेर पर्खेर बस्नु नपर्ने भयो ।

यहाँको सिंचाइ योजनाका लागि लुम्विनी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयबाट गत आर्थिक वर्षमा तीन करोड ७९ लाख बजेट विनियोजन भएको थियो । यही बजेटबाट टेण्डर प्रक्रिया र उपभोक्ता समितिको श्रमदानबाट योजना निर्माण भएको हो । मनसेवा र गढबास क्षेत्रमा सिंचाइ गर्न दुई हजार मीटर लामो पक्की कूलो बनिरहेको छ । योसँगै किसानको खेतसम्म पुग्नका लागि अन्य पूर्वाधार निर्माणको काम पनि हुने सिंचाई विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख शंकर थापाले जानकारी दिनुभयो । गोठादी खोलामा खेर बगिरहेको पानी सिंचाइ गरेर वसन्ते, वर्षे र हिउँदे खेती गर्न सकिने थापाले बताउनुभयो । कार्यालयका सबइन्जिनियर विधान पण्डितले योजनाको कुल लागतको तीन प्रतिशत बढी श्रमदान उपभोक्ताले बेहोर्नुपर्नेछ भने ९७ प्रतिशत निर्माणको ठेक्का एसिएटिक÷हिमाल जेभी, अर्घाखाँचीले गर्ने सम्झौतामा उल्लेख छ ।- गोरखापत्र अनलाइनबाट

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?