बुटवल : फागुन ९, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्थापना भए आन्दोलनमा जाने चेतावनी दिएका छन् । शनिबार विराटनगरमा आयोजित आफ्नो समूहको सभामा बोल्दै पदीय मर्यादालाई नाघेर प्रधानमन्त्री ओलीले त्यस्तो चेतावनी दिएका हु्न् । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले कसैका दबाबमा विघटन बदर गर्ने फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताए ।
उनले भने, तपाईंहरु आत्मविश्वासका साथ अघि बढ्नुस्, यदि कहिँ कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिक्डम सेटिङ केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने त्यसका विरुद्ध फेरि पनि हाम्रो आन्दोलन अघि बढ्छ । त्यस्ता शक्तिहरुलाई पराजित गर्छौँ । चुनाव हुन्छ ।’ ओलीले यस्तो अभिव्यक्ति दिएपछि जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले ओलीको कडा आलोचना गरेका छन् । उनले ओलीलाई पदमा बसिरहन नैतिक अधिकार नरहेको समेत बताएका छन् ।
प्रचण्ड–माधव समूहले आफ्नो पक्षमा कतिपयलाई झुक्याएर हस्ताक्षर गराएको दावी समेत उनले गरे । उनले कोही पनि भ्रममा पर्न जरुरी नरहेको भन्दै मुल पार्टी आफू अध्यक्ष रहेको नेकपा नै रहेको दावी गरे । सभालाई सम्बोधन गर्दै उनले पूर्वमन्त्री शेरबहादुर तामाङ र प्रदेश १ का प्रदेशसभा सदस्य उषाकला राई मुल घरमा फर्किएको बताए ।
यसैगरी सभामुख अग्नि सापकोटाले किर्ते हस्ताक्षर गरेको आरोप लगाउँदै उपराष्ट्रपनि नन्दबहादुर पुनले पनि राजनीतिक भाषण गर्दै हिँडेको आरोप लगाए । उनले प्रतिनिधिसभामा ६४ प्रतिशतको प्रतिनिधित्व गरेको प्रधानमन्त्रीले संसद विघटन गरेको बताउँदै बाध्य भएर ताजा जनादेशमा जानुपरेको बताए । उनले कसैले अध्यक्ष दिँदैमा भइनहाल्ने भन्दै माधव नेपाललाई मख्ख नपर्न चुनौति दिए । ‘निर्वाचन आयोगले भनिसकेको छ कि पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा पार्टी हो, अरु अध्यक्षलाई चिन्दिनँ भन्यो । ओलीले नेपालमा कम्युनिस्ट सिध्याउनका लागि केही व्यक्ति लागि परेको पनि दावी गरे । उनले सभामा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कडा आलोचना पनि गरे । त्यस्तै उनले जनसहभागिता कस्तो हुन्छ भन्ने जान्न विराटनगरको सभा हेर्न पनि प्रचण्ड नेपाल समूहलाई चुनौति दिए ।