काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकपमा टेस्ट राष्ट्र पाकिस्तान अमेरिकासँग पराजित भएसँगै विश्वकप यात्रा कठिन भएको छ । ए ग्रुपमा रहेको उपाधिको प्रबल दाबेदार मानिएको टेस्ट राष्ट्र पाकिस्तान सुपर ओभरमा अमेरिकासँग स्तब्ध बन्यो । बिहीबार टेक्सासस्थित ड्यालसमा भएको खेलमा पाकिस्तानले प्रस्तुत गरेको १६० रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५९ रन नै बनाएपछि खेल सुपर ओभरमा धकेलियो ।
सुपर ओभरमा अमेरिकाले पहिले ब्याटिङ गर्दै एक विकेट गुमाएर १८ रनको योगफल खडा गरेको थियो । १९ रनको लक्ष्यसहित मैदान उत्रिएको पाकिस्तानले ६ बलमा एक विकेट गुमाएर १३ रनमात्र बनाएपछि अमेरिकाले पहिलो अन्तर्राष्ट्रिय भेटमै विश्वकप विजेतालाई हराएको हो । पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाए । २६–३ को अवस्थाबाट आजमले सदाब खानसँग ७२ रनको साझेदारी गर्दै पाकिस्तानको इनिङ उकासेका थिए । सदाबले २५ बलमा एक चौका र तीन छक्कासहित ४० रन थपे । साहिन साह अफ्रिदीले २३ र इफ्तिखर अहमेदले १८ रन बनाए ।
अमेरिकाका नोस्थुस केन्जिगेले तीन विकेट लिए । सौरभ नेत्राभाल्करले दुई विकेट लिँदा अली खान र जसदीप सिंहले समान एक विकेट लिए । लगातार दोस्रो जित निकालेको अमेरिका चार अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ भने पाकिस्तान तालिकाको तेस्रो स्थानमा रहेको छ । अब पाकिस्तानले जुन ९ तारिखमा चीर प्रतिद्धन्द्धी भारतसँग खेल्ने छ । यदि पाकिस्तान आफ्नो खेलमा बलियो प्रतिद्धन्द्धी भारतसँग पराजीत भएमा त्यसपछिका बाँकी दुई खेलमा जीत निकाल्न असफल भयो भने पाकिस्तानको सुपर आठमा पुग्ने संभावना कमजोर देखिन्छ । अमेरिकी पिचसँग परिचित क्यानडा र अर्को टेस्ट राष्ट्र आयरल्याण्डसँग पाकिस्तानले अनिवार्य जीत निकाल्नु पर्नेछ । दुई वटा जीत मात्रै पाकिस्तानका लागि पर्याप्त हुँदैन किनभने फराकिलो रनरेटमा जीत निकाल्नु पर्ने देखिन्छ । यदि आयरल्याण्डले अमेरिका र क्यानडामाथि जीत निकाल्यो भने पाकिस्तान, आयरल्याण्ड र अमेरिकाको समान चार अंक हुनेछ । त्यस्तो अवस्थामा पाकिस्तानलाई सुपर आठमा पुग्न अमेरिका र आयरल्याण्डकोभन्दा रन रेट उच्च हुनु पर्नेछ । यसरी अपरिचत पिचमा पाकिस्तानलाई उच्च रन रेटसहित जीत निकाल्न भने निकै कठिन देखिन्छ । त्यसकारण पाकिस्तानको विश्वकपको यात्रा कठिन बनेको छ ।