काठमाडौं । एकीकृत समाजवादीको असारमा काठमाडौँमा हुने १० औँ राष्ट्रिय महाधिवेशनमा पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव नेपाललाई चुनौती दिने भएका छन् । नेतृत्वमा दोहोरिने माधवको योजनालाई खनालले उम्मेदवारी दिएर कडा टक्कर दिने भएका हुन् । क्रान्तिकारी समाजवादी कार्यक्रमलाई लागु गर्न उम्मेदवारी दिन लागेको खनालले बताएका छन् । एमालेबाट विद्रोह गरेको फगत पद नमिलेर वा संविधानमाथि हमला भएरमात्र नभइ तत्कालीन नेतृत्वमा देखिएको दक्षिणपन्थी अवसरवादविरूद्ध विद्रोह गरिएको उनको दाबी छ । तर विभाजन भएको तीन वर्ष पुग्न लाग्दासमेत नेतृत्वले औचित्य पुष्टि गर्न नसकेको खनालको भनाइ छ ।
मदन भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलीय जनवाद (जबज) अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताउँदै आएका नेपालले दोस्रो पटक अध्यक्ष बन्ने घनिभुत तयारी चलाईरहेका छन् । तर नेतृत्वका लागि अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीच खुला रूपमै तयारी चलिरहेको छ । खनाल र नेपालबिच पार्टी नेतृत्वको विषयमा मात्रै नभइ सुरुदेखि नै पार्टीको कार्यदिशा र पार्टी परिचालनको विषयमा पनि उत्तिकै विवाद देखिएको छ । यसो त आम कार्यकर्तामाथि अत्यन्त गहिरो विश्वास रहेकाले महाधिवेशनमा जित्ने खनालको दाबी छ । मधेस प्रदेशबाहेक सबै प्रदेशमा आफ्नो पक्षमा बहुमत रहेको उनले दाबी गरे ।
‘नीति र नेतृत्वबिच तालमेल नमिल्दा नेपालको कम्युनिस्ट आन्दोलनमा ठुल्ठुला विग्रह भएको छ । ०१४ सालको दोस्रो महाधिवेशन र नवौँ महाधिवेशन यसको साक्षी हो । हामीले यी दुई घटनाबाट शिक्षा लिएर १० औँ महाधिवेशनमा जाँदैछौँ । जसमा नीति र नेतृत्वबिच तालमेल भएर अगाडि बढ्ने मलाई विश्वास छ’, खनाल भन्छन् ।
नेतृत्वको कमजोरीले स्थानीय तहको निर्वाचनमा पार्टीलाई ठुलो धक्का लागेको पनि खनालले बताए । दक्षिणपन्थी गठबन्धन बनाएर जानुको सट्टा आवश्यकता अनुसार विचार मिल्नेसँग तालमेल गरी एकल प्रतिस्पर्धा गरेको भए प्रदेश र सङ्घको निर्वाचनमा पार्टीले राष्ट्रिय मान्यता पाउने उनको दाबी छ । एमसीसी अनुमोदनमा नेतृत्वले खेलेको भूमिका निकै कमजोर भएको उनको विश्लेषण छ ।
काठमाडौँमा भएको एमालेको नवौँ महाधिवेशनमा नेपाल ओलीसँग झिनो मतले पराजित भएका थिए । २०७७ साल पुस ५ मा ओली नेतृत्वको सरकारले संसद् विघटन गरेपछि पार्टीभित्रको विवाद झाङ्गिदै जाँदा नेपाल र खनाल २०७८ भदौ २ गते एमालेबाट अलग भएका थिए । अर्को वैकल्पिक पात्र खडा नभए वा सर्वसम्मत नेतृत्व चयनमा सहमति नभए नेपाल र खनालबिच पहिलो पटक महाधिवेशनमा प्रतिस्पर्धा हुने देखिन्छ ।