काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा भोलि (आइतबार) भारतको औपचारिक भ्रमणमा जाँदैछन्। प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र मोदीबीच आइतबार नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले जानकारी दिए।
‘प्रधानमन्त्रीद्वयबीच संक्षिप्त भेटवार्ता हुनेछ,’ ती अधिकारीले भने।
प्रधानमन्त्री प्रचण्डको साथमा स्ककीय सचिव समेत रहेकी छोरी गंगा, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्ती पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, लगायत उच्चपदस्थ सरकारी कर्मचारी पनि भारत जाने कार्यक्रम छ।
मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्रीसँग कोको जाँदै छन् दिल्ली ?
आइतबार शपथ ग्रहण समारोह सकेर प्रचण्ड सोमबार (जेठ २८) नै स्वदेश फर्कने कार्यक्रम तय भएको छ। प्रचण्डलाई मोदीले निर्वाचित भएपछि भएको टेलिफोन वार्ताबाटै औपचारिक निमन्त्रणा दिएका थिए।लगत्तै, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहणमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो।
प्रधानमन्त्री प्रचण्डले यसअघि गत जेठमा भारतको औपचारिक भ्रमण गरेका थिए।
यसअघि सन् २०१४ मा प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए। त्यसबेला पाकिस्तानबाहेक दक्षिण एसियाली मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख समारोहमा सहभागी भएका थिएनन्।
यसपटक भने गलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथ र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु पनि शपथ समारोहमा सहभागी हुने भएका छन्।
यी राष्ट्रपति र प्रधानमन्त्री, जो मोदीको शपथमा दिल्लीमा भेला हुँदैछन्
निर्वाचन जितेपछि भएको प्रचण्ड र मोदीबीचको टेलिफोनमा आपसी हित र साझा चासोका विविध विषयमा विचारविमर्श हुनका साथै भएको थियो। प्रत्युत्तरमा भारतका प्रधानमन्त्री मोदीले ‘प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै सामाजिक सञ्जालमार्फत लेखेका थिए, ‘उहाँको न्यानो शुभकामनाको लागि उहाँलाई धन्यवाद व्यक्त गरेँ। भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौँ।’
सात चरणमा भारतमा सम्पन्न लोकसभा निर्वाचन परिणामअनुसार नेशनल डेमोक्र्याटिक एलायन्स (एनडीए) दुई सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले दुई सय ४० सिट जितेको छ। एनडीएको समर्थनमा भारतीय जनता पार्टीका नेता मोदीले आइतबार अपराह्न तेस्रो कार्यकालका लागि शपथग्रहण गर्ने निश्चित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।