काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको अस्थित्व समाप्त हुने देखेपछि आफूले तत्कालीन अवस्थामा संसद् विघटन गरेको बताएका छन् । एमाले काठमाडौं जिल्लाको सातौँ अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले पार्टीभित्रकै केही व्यक्तिले एमालेलाई दक्षिणपन्थी शक्तिको पाउमा बुझाउने देखेपछि आफूले संसद् विघटन गरेको जिकिर गरे । संसद् विघटन भएकै कारण अहिले पनि एमाले अस्थित्वमा रहेको उनको भनाइ थियो । आफू नेतृत्वको सरकारले देश र जनताका पक्षमा धेरै राम्रा काम गरेकाले अदालतबाट विपक्षीलाई प्रधानमन्त्री बनाइएको उनको जिकिर छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्ति मिलेर एमालेमाथि हमला गरेर कमजोर बनाउने प्रयास गरिए पनि कार्यकर्तापंक्तिले पार्टीलाई बचाएको उनले बताए ।