अमृतशरण देवाचार्य
धार्मिक महत्त्व : हिन्दु धर्म अनुसार विवाहित महिलाले सिन्दूर लगाउने परम्परा रहदै आएको छ । यो पहिचान मात्र नभई वेद पुराण आदि ग्रन्थहरुको निर्देश पालना गरेको भन्ने बुझिन्छ । सिन्दुर लगाउनाले उक्त महिलाको पतिको आयु, ऐश्वर्यमा वृद्धि हुने धार्मिक मूल्य र मान्यता रहि आएको छ ।
वैज्ञानिक अर्थ के छ ? : सिन्दूर केवल रङ मात्र नभएर बेसार, कागति र पारोको समिश्रणबाट बनेको हुन्छ । पारोले रक्तचाप सन्तुलन गर्न सहयोग पुराइराखेको हुन्छ । मस्तिष्क निधारमा स्नायु ग्रन्थी आदि हुने र यिनलाई पारोको मात्राले लाभ हुने गर्दछ । पारोले तनाबबाट पनि मुक्त गराउन मद्दत गर्ने भएकाले पीयूष ग्रन्थीदेखि निधारको मध्यम भागसम्म लगाउने गरिन्छ । साथसाथै काम वासना बढाउने र आंशिक मात्रामा उत्तेजनामा वृद्धि हुने हुनाले यो लाभदायक हुने गर्दछ । त्यसैले बिधवा वा अविवाहित नारीले सिन्दुरको प्रयोग नगर्नु वैज्ञानिक दृष्टिकोणले पनि उचित मानिन्छ र हिन्दु धर्म अनुसार बिधवा र अविवाहित नारीलाई सिन्दुर बर्जित गरिएको हुन्छ ।
कुन स्थानमा लगाएको सिन्दुर उत्तम ? : सिन्दुर लगाउने भएकाले दुईतिर कपाल लैजादा बीचमा खालि जस्तो देखिने भागलाइ सिउदो नामाकरण गरिएको हो । पछिल्लो समयमा सिन्दुर संस्कार मात्र नभई फेसन बन्न थालेको छ । कसैले दाहिने आँखा माथि छड्के सिउदो बनाएर त कसैले बायाँ तर्फ सिउदो बनाएर लाउने गरेको पाइन्छ । तर त्यसो नभई सिन्दुर नाकबाट सिधा माथी बनाइएको सिउदोमा लगाउनुपर्दछ । हिन्दु धर्मका अनुसार दायाँ बायाँ लगाइएको सिन्दुरले पतिको आयु, ऐश्वर्यको हानि गर्दछ भनेर व्याख्या गरेको पाइन्छ ।