पं. श्री. अमृतशरण देवाचार्य
ब्रह्म : बोल्न उच्चारण गर्न मात्र नभइ बुझ्न पनि त्यति सहज छैन “बृहन्तो ह्यस्मिम् गुणा इति ब्रह्म” बृह धातुबाट बनेको बृहत्तर अर्थात सबैभन्दा ठुलो अर्थ बुझिने ब्रह्म शब्द आफैमा सगुण सत्य शक्तियुक्त तत्व हो । यहि शब्द भित्रै सगुण भाव भरिएको हुन्छ । वेद, पुराण, उपनिषद्, ग्रन्थ एवं धर्म प्रचारक प्रवचनकर्ताले ब्रह्म शब्दको विभिन्न अर्थमा प्रयोग गर्ने गरेको पाइन्छ । त्यस बाहेक “ब्रह्म प्रथमजं ज्ञान” यसरी ब्रह्म वेद हो भनेर पनि बुझ्न सकिन्छ । छन्दोग्य आदि उपनिषद्ले परमात्मा अन्तरात्मा मात्र नभइ देवता चित्रण गरेको छ भने बृहदारण्यक उपनिषद्मा ब्रह्मलाई सत् अर्थमा बुझाइएको छ कि सत्य वा जीवको उत्पत्ति जीवन र समर्पण रुप नै त्यहि भएको प्रष्ट धार्मिक अर्थमा बुझाउदा पृथ्वी, वायु, जल, ताप र आकाश (प्राण) भनेर भन्न सकिन्छ । गार्गी र यज्ञवल्क्य ऋषिलाई सोधेको शब्द विषयक प्रश्नमा यज्ञवल्क्यले महान प्रश्नको नाम दिएर यसको अर्थ रहस्यमय तत्व बताएका थिए । अन्य विभिन्न ऋषिहरुका अनुसार तपस्या, सत्य, योग, साधना आदि अनेकन अर्थ बुझाइएको पाइन्छ । ब्रह्म शब्दलाई शुत्र भावमा बुझाउनुपर्दा यो तत्व हो । जुन अनादि अविनाशी चैतन्य आदि स्वरुपमा रहेको छ । यश शब्दलाई प्राप्ति भावले बुझ्ने हो भने यो त्यस्तो चीज हो, यसलाई पाए अरु कुनै सुख प्राप्तिको चाहना नै हुदैन । यश शब्द ज्ञान भएपछि अन्य कुनैपनि ज्ञान जिज्ञासा रहदैन । यो चराचर जगतमा व्याप्त छ तर देखिदैन । जसरी जल, वायुमा शक्ति, उखुमा चिनी लुके झै अदृश्य रुपमा सर्वव्यापि रहेको छ ।
जगत : गरेका कामको प्रतिफल अनुभव वा भोग गराउने परमेश्वर नाम, स्वरुप एवं परमात्माका छिद्र कर्ण अवस्थित जीवात्माहरुको अनेक-अनेक तत्वहरुलाई सामुहिक रुपमा जगत भनिन्छ । जगतमा मनुष्यहरु मात्र नभई जीव, वनस्पति आदि सबै दु:ख, सुख मिश्रित भोग गर्दछन । जगत शब्दका पनि विभिन्न तर्क र विचारहरु रहेका छन । न्यायशास्त्र विशेष ग्रन्थहरुले प्रकृतिको विकासको जगत मान्छन् भने सांख्य शास्त्रानुसार यो प्रकृतिको परिणाम जड छ भनेर पुरुष र प्रकृतिलाई छुट्टै विशेष तत्वका रुपमा बताइएको छ । आचार्यका अनुसार पनि रामानुजले जगत ब्रह्मको अभिव्यक्ति हो भन्दछन भने शंकराचार्यले ब्रह्मको विवर्त बताउन्छन ।
ब्रह्म र जगतको अन्तरसम्बन्ध :
कसैले संसारलाई नै इश्वरको स्वरुप मान्दछन । कसैले उनले गरेको सृष्टि, कसैले भ्रम त कसैले कर्मको फल भोग्ने ठाउँ त कसैले आफु नै इश्वरको लिलाको लागि प्रस्तुत खेलौना परिभाषित गर्दछन । कसैले जगतलाई नै इश्वरको प्रकृति भन्दछन । तर यो जति संसार छ कहिल्यै सृष्टि भएको होइन । संसार बाहेक अरु केहिपनि नभएकोले यो कसैले सृष्टि गरेको होइन भनेर व्याख्या गरेको पाइन्छ । फेरि कसैले सृष्टि गरेको होइन भने वेद पुराण ग्रन्थको भनाइ झुट हो त भन्ने प्रतिप्रश्नमा योगि एवं ऋषिहरुले जसले संसार बाहेक केही छैन भन्दछन उनलाई सम्झाउन बुझाउन र त्यो पाथीको तत्व बुझाउन उपनिषद्हरुमा सृष्टि विधानको कल्पना वा विवेचना गरिएको भने सत्य हो । पुराण, मिमांश, न्यायशास्त्र, शुक्त, पुरुष शुक्तमा जगतको प्रलय र उत्पत्ति वा सृष्टिको कुरामा विश्वास गरिन्छ । विज्ञानवादीहरु जगतको सृजना भएको होइन र प्रलय पनि हुदैन भन्दछन । यी सब भ्रम हुन भन्दछन तर त्यो अज्ञानताको पराकाष्ठा मात्र हो । द्वैतवादि चिन्तकहरुले जगतको यथार्थतामाथि विश्वास गर्दछन । किनकि जगत/संसार अस्तित्व रहित भने होइन । शंकराचार्य एवं अन्य आचार्यको मत रहित तटस्थ भावले बिश्लेषण गर्ने हो भने ब्रह्म र माया दुबैको मिश्रणलाई जगत भनिन्छ । यी दुई तत्व जगत उत्पादनका कारण बनेका छन । यी भिन्न विचारहरुलाई समिश्रित एकाग्रता ल्याउन संसार र जगत दुई पद फरक-फरक मानेर शरिर अनित्य जगत नित्य मान्ने गर्दछन । उपनिषद्को दृष्टि निचोड अनुसार जगतको निमित्त र कारण इश्वर नै भएकाले जगतमा देखिएका दृश्यात्मक, भावात्मक र अनुभवात्मक हरेक कुरा ईश्वरीय रुप हुन् । अर्को अर्थमा भन्ने हो भने जगत ब्रह्मकै अभिव्यक्ति हो । ब्रह्म र जगत दुबै अनादिकालिन हुन भन्ने भावलाई प्रधान मान्ने हो भने एउटालाई यथार्थ माने अर्को प्रतिभाषिक हुनजान्छ । सबै लोकहरु प्रलय समय नष्ट हुने हुनाले यो जगत मात्र शान्त छ । हाम्रै देहलाई आधार मान्ने हो भने देहपनि क्षणभङ्गुर छ । इन्द्रियपनि फेरिइरहन्छन अर्थात कसैको नित्य सत्ता छैन । सबै विनाशी भएको हुदा ब्रह्म र जगत नै अविनाशी भाव हो ।
म (अमृतशरण देवाचार्य) आफैले बिभिन्न उपनिषद् पढेर निचोड निकाल्दा ब्रह्म सत्य हो, जगत मिथ्या हो भन्ने भाव सृजना गरेको छु । तर त्यसो भन्दा जगतप्रति वैरभाव राखेको भनेर बुझ्न सकिने तर्क आफै भित्र छैन । हुन त उपनिषदमा ऋषिहरुले जगत मिथ्या भनेर ठेट भाव प्रस्तुत गरेका भने छैनन् । श्वेत, तैतरीय आदि उपनिषदको निचोड र तत्व भाव लिने हो भने ब्रह्म नै विश्व भएको पाइन्छ । चर-अचर, जड, चेतन यी चार स्वरुप ब्रह्म रुप भनेर बुझ्नु उपयुक्त मानिन्छ । यिनै भावलाई प्रधान मान्ने हो भने ब्रह्मबाट नै जगतको सृष्टि भएको विषयलाई जोड दिन सकिन्छ ।
ऋषिहरुका मत अनुसार अब सरल तरिकाले ब्रह्म र जगतको सम्बन्ध बुझाउदा जस्तै : पानीबाट करेण्ट निस्कन्छ, करेण्टबाट पानी होइन । करेण्ट परम तत्व होइन तर करेण्टको कारण भने पानी अवश्य हो भनेर बुझ्न सकिन्छ । यसरी ब्रह्म नै जगतको कारण भएको शंकराचार्यको मत पाइन्छ ।
निचोडमा के भन्न सकिन्छ भने चराचर विश्व ब्रह्माण्डका जड् र चैतन्यपरक कार्तव्यवहार गतिविधि समग्रमा ब्रह्मकै अभिव्यक्ति हुन जान्छ । जसरी माकुराले आफुले बनाएको जालोलाई बिस्तार गरेर त्यसैमा घुम्दछ । आफैले बनाएको जालो भएपनि आफु त्यसैमा घुमिरहन्छ । त्यसै गरेर यो जगत ब्रह्मकै सिर्जनात्मक अभिव्यक्ति हो । निराकार, निर्गुण ब्रह्म व्यवहार अवस्थामा अग्राह्य, अचिन्त्य आदि स्वभावयुक्त हुनाले उपासनामा आउन नसकिने हुँदा व्यवहारिक दिशामा द्वैतवादी विचार अनुसार जगतलाई सगुण ब्रह्म इश्वर देखि बेग्लै तत्वका रुपमा स्विकार गर्दै दुबैपक्षको एकमत भएको भाव प्रष्ट पार्न सकिन्छ । जगत एवं सृष्टि ब्रह्मको प्रष्फुटित विचार, चाहना, सङ्कल्प आदि रुपमा भ्रम दृष्टिले वर्णित भएपनि अन्तिम सत्यको साक्षात्कार एवं आत्मबोध नभएसम्म कगत अस्तित्वको अनुभव भइरहने र ब्रह्म जगत अनादि सम्बन्ध देखा पर्न आउँछ ।
अन्तराष्ट्रिय स्वर्णपदक बिभूषित पं.श्री.अमृतशरण देवाचार्य (फलित ज्योतिषाचार्य एवं १८ पुराण प्रवक्ता)