हाँप र झाँप
टुकुर टुकुर
स्याँस्याँ र फ्याँफ्याँ गर्दै
जीवनभर कुद्ने मानिस
आखिर
स्वास्नी, छोराछोरी, आमाबाबु र दाजुभाइभन्दा
पर जानै सक्दैन
देखाएर वैरभाव
छरछिमेकीहरूलाई
जोरीपारीहरूलाई
कहिले अपरिमित दुःख दिई
कहिले असमेल बन्धनमा पारी
ऊ खुसीले हाँस्छ
ऊ उतुङ्ग भएर नाँच्छ,
दौडिनु पर्ने त
दीनदुखीहरूको सेवा गर्नका लागि हो
दौडिनु पर्ने त
अभाव र पीडामा रुनेहरूका लागि हो
यहाँ स्वार्थका लागि दौडिनेहरू
देख्न सकिन्छ
यहाँ निहितार्थका लागि दौडिनेहरू
पाउन सकिन्छ ,
जति कुदे पनि
यी लिलीपुटे मानिसहरूको दौड
घर, मोटर, भौतिकी सामग्रीभन्दा
पर पर हिमाच्छादित हिमालका पाखाहरूसम्म
कहिले पुग्न सकेन
जति कुदे पनि
यी भुइँ मान्छेहरूको दौड
दिग्दिगन्तसम्म नीलो देखिने क्षितिजसम्म
कहिले पुग्न सके,
त्यसैले यो दौड केका लागि ?
त्यसैले यो दौड कस्का लागि ?