Sunday, September 8, 2024

ट्रेन्डिङ :

जब कुशल रानाले गाउँका सम्भावना थाहा पाए…

बसाइँसराइले गाउँ रित्तिँदैछन् । युवा पलायन निरन्तर बढ्दो छ । त्यसैले गाउँ नछोडेका परिवारमा पनि बूढापाका र बालबालिका मात्रै भेटिन्छन् । गाउँका खेतीयोग्य जमिन कि बाँझै छन् कि झाडीले ढाकिँदैछन् । यी नेपालका साझा समस्या हुन् । 

यस्तै, समस्याबाट बागलुङ पनि अछुतो छैन । जैमिनी नगरपालिका–७ जैदीबोरका कुशल रानाको परिवार यसको एक उदाहरण हो । उहाँको परिवारले दश वर्षअघि गाउँ छाड्यो । केही समय काठमाडौँमा बिताएका राना परिवारर्ला यही छाडेर रोजगारीका लागि दुई वर्ष कतार जानुभयो । कतारमा सोचेजस्तो कमाई भएन, फेरि आफ्नैै देश फर्किनुभयो तर गाउँ आउनुभएन । रानाले म्याग्दी र बागलुङका विभिन्न ठाउँमा काम गर्नुभयो तर जहाँ गए पनि सोचेको जस्तो भएन । यसैकारण उहाँ १० वर्षपछि आफ्नै गाउँ फर्किनुभयो । हाल बाख्रापालन व्यवसाय गरिरहनुभएको छ । 

“सहर पसेपछि राम्रो होला भनेर गाउँ छाडे, त्यहाँ पनि सोचेजस्तो नभएपछि विदेश लागेँ । विदेश त झनै अप्ठेरो रहेछ, त्यहाँ पनि बस्न सकिएन । जताततै हण्डर खाए, त्यसैले गाउँ छाडेको १० वर्षपछि आफ्नै गाउँ फर्किएँ,” रानाले भन्नुभयो । ४० वर्षीय राना तीन वर्षदेखि बाख्रापालन व्यवसाय गरिरहनुभएको छ । रु पाँच लाख ऋण काढेर सुरु गरेको व्यवसायमा हाल रु २० लाखभन्दा बढी लगानी पुगेको छ । करिब २० रोपनी जमिनमा डाले र उन्नत जातको घाँस छ, ४० भन्दा बढी बाख्रा छन् । उहाँ हाल वार्षिक रु सात लाखभन्दा बढी आम्दानी हुने गरेको बताउनुहुन्छ । सहर र विदेश जाँदासमेत दुःखले नछाडेपछि गाउँ फर्किनुभएका राना सफल उद्यमी बन्ने सोचमा हुनुहुन्छ तर उहाँको परिवार अझै विश्वस्त छैन । गाउँमै केही गर्न सकिन्छ भन्ने आश्वस्त पारेपछि मात्रै काठमाडौँमा रहेको परिवारलाई गाउँ फर्काउने योजना रहेको उहाँले सुनाउनुभयो । 

“गाउँ छाडेपछि यहाँको घर जीर्ण बनिसकेको थियो । अहिले मर्मत गरेर पुरानै शैलीमा फर्काएको छु । व्यवसायलाई पनि विस्तार गर्दैछु । फार्ममा स्थानीय र बोयर जातका बाख्रा छन् । एक सय बोयर बाख्रा पु¥याउने योजना छ । कम्तीमा ५० माउ पु¥याउन सकेमा वर्षमा एक सय बोका उत्पादन गर्न सकिन्छ भन्ने अनुमान छ । त्यसो हुँदा वार्षिक रु २५ लाख कारोबार गर्न सकिन्छ भन्ने विश्वास छ । त्यसपछि त परिवार पनि गाउँ फर्किएला कि”, रानाले आशा व्यक्त गर्नुभयो ।

वर्षौंवर्ष गाउँमा बिताएर पनि सम्भावना नदेखेपछि सहर र त्यहाँबाट विदेश गएका रानालाई गाउँमै सम्भावना छ भन्ने थाहा पाउन धेरै समय लाग्यो । त्यसमा पनि दुई वर्षको विदेश बसाइले धेरै पाठ सिकायो । उहाँले भन्नुभयो, “सहरदेखि विदेशसम्म गइयो, देशभित्रै पनि काम गरियो तर हण्डरठक्कर मात्रै खाइयो । अहिले आफ्नै गाउँमा खेती किसानी र बाख्रापालन गरिरहेको छु । गाउँमै यति ठूलो सम्भावना रहेछ भन्नेबारे बल्ल थाहा पाएँ,” रानाको कथन छ,“मेरो परिवार अहिले पनि सहरमै छ, अचेल त यो गाउँ, यहाँको माटो र हावापानी प्रिय लाग्न थालेको छ । अब गाउँ छोडेर कत्तै जान्न, बरू परिवारलाई चाँडै फर्काउँछु ।” 

अहिले उहाँको व्यवसाय विकासका लागि विभिन्न सङ्घसंस्थाले समेत सहयोग गर्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत रानाले रु सात लाख ५० हजार अनुदान सहयोग पाउन भएको छ । परियोजना प्रमुख नारायण पौडेलले गाउँमै आएर युवाले उद्यमी बन्ने लक्ष्य राखेका युवालाई प्रोत्साहनका लागि पहिलो वर्ष रु दुई लाख ५० हजार र चालु आर्थिक वर्षमा रु पाँच लाख सहयोग गरिएको जानकारी दिनुभयो । “गाउँमा युवा भेट्टाउन मुस्किल भएका बेला उहाँ गाउँ फर्केर उद्यममा जोडिनुभएको छ । त्यसैले प्रोत्साहनका लागि नस्ल सुधारका लागि सहयोग गरेका थियौँ,” प्रमुख पौडेलले भन्नुभयो, “उहाँलाई मात्रै होइन उद्यमशील बन्न चाहने अन्य युवालाई पनि सहयोग गर्ने हाम्रो नीति हो । रानाको व्यवसायबाट अन्य युवाले पनि पाठ सिकेर उद्यमशील बन्न आवश्यक छ, हाम्रो सहयोग रहन्छ ।” 

रानालाई जैमिनी नगरपालिकाले पनि सहयोग गरेको छ । नगरपालिकाले गत वर्ष रु ४२ हजार पर्ने मकै पिस्ने उपकरण अनुदानमा दिएको उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । गाउँमा व्यवसाय गर्ने युवालाई नगरपालिकाले प्रोत्साहन र सम्मान गर्ने नीति लिएको उहाँले बताउनुभयो । “किसानलाई व्यवसायतर्फ आकर्षित गर्न उद्यमीलाई प्राविधिक तथा अनुदान सहयोग दिन थालेको छौँ । धेरैका लागि प्रेरणा हुने काम गरिरहेका रानाजस्ता युवालाई प्रोत्साहनको खाँचो छ, जसले अरूलाई पनि उद्यमशील बन्न उत्प्रेरणा मिल्न सक्छ,” शर्माले भन्नुभयो ।   

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?