Sunday, September 8, 2024

ट्रेन्डिङ :

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि गृहजिल्ला झापावासी हर्षले गदगद

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री बनेपछि गृहजिल्ला झापावासी हर्षित भएका छन् । जिल्लामा विकास निर्माणलगायतका कामले थप गति लिने अपेक्षासहित जिल्लावासी हर्षित भएका हुन् ।  

राष्ट्रपति रामचन्द्र पौडेलले आजै उहाँलाई नेपालको संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो । झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रधानमन्त्री ओलीले विगतका कार्यकालमा जिल्लामा सुरू गरेका विकास निर्माणका योजनाले पूर्णता पाउनुका साथै आगामी दिनमा नयाँ योजना थपिनेमा जिल्लावासी आशावादी छन् । 

कन्काई नगरपालिका–४ का खगेन्द्र उप्रेती जिल्लावासी चौथोपटक देशको कार्यकारी नेतृत्वमा पुग्नु गौरवको कुरा भएको बताउनुहुन्छ । प्रधानमन्त्री ओलीले विगतमा गरेका वाचा पूरा गर्न सकेमा झापावासीका लागि त्यही नै ठूलो उपहार हुने उप्रेतीको भनाइ छ ।  

मेचीनगरका पर्यटन व्यवसायी चन्द्र कार्कीले ओली प्रधानमन्त्री भएसँगै झापाको पर्यटन क्षेत्र थप चलायमान हुने अपेक्षा व्यक्त गर्नुहुन्छ । पर्यटकीयस्थल किच्चकबध, केचना, सतासीधाम, जमुनखाडी सिमसारलगायतका क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने खालका ठूला योजना आउनेमा आफूहरू आशावादी भएको उहाँले बताउनुभयो । साथै पर्यटकलाई काँकरभिट्टा नाका हुँदै तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्न केही वर्षदेखि लगाइएको रोक हटाउन सकेमा यस क्षेत्रको विकास ठूलो टेवा पुग्ने र यसमा प्रधानमन्त्री ओलीले पहल गर्ने यहाँका सबै व्यवसायीले अपेक्षा गरेको कार्कीले सुनाउनुभयो ।  

भद्रपुर नगरपालिका–१० का मेघराज राजवंशीले प्रधानमन्त्री ओलीको नेतृत्वमा जिल्लाका रणनीतिक सडक निर्माण सम्पन्न गर्न सहज हुने आशा जागेको बताउनुभयो । सडक डिभिजन दमकका सूचना अधिकारी इञ्जिनीयर गौतमकुमार देवले बजेट अभावले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका रणनीतिक सडक अधुरा रहेका र सबै क्षेत्रमा रु नौ करोड बजेट अभाव रहेको जानकारी दिनुभयो । 

झापा गाउँपालिका वडा नं २ का अध्यक्ष हिमालकुमार चम्लागाईंका अनुसार वर्षाको समयमा कन्काइ, बिरिङ, मेची, रतुवा जस्ता ठूला नदीले जिल्लाको दक्षिणी क्षेत्र डुबान भई गाउँबस्ती नै विस्थापित हुने अवस्था छ । उहाँले जिल्लावासी नै देशको नेतृत्वमा पुगेसँगै डुबान रोक्न नदी किनारमा स्थायी तटबन्ध निर्माण हुने आशा व्यक्त गर्नुभयो ।   

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?