Sunday, September 8, 2024

ट्रेन्डिङ :

‘आइबिएम’को विद्यालय कार्यक्रम नेपालमा

विश्व प्रसिद्ध प्रविधि कम्पनी ‘आइबिएम’को विद्यालय कार्यक्रम नेपालमा ल्याइएको छ । भारतको चर्चित शिक्षा–प्रविधि कम्पनी ट्रान्सन्यूरनसँगको सहकार्यमा एसियन इ–लर्निङले कक्षा ५ देखि १२ कक्षा सम्मका विद्यार्थीका लागि तयार पारिएको ‘आइबिएम’ कार्यक्रम भित्र्याएको हो ।  

विद्यार्थीमा प्रविधिको पहुँच अभिवृद्धि गर्नुका साथै उद्यमशीलताको विकास गर्ने उद्देश्यले आइबिएम कम्पनीले तयार पारेको विश्वस्तरको विद्यालय कार्यक्रम ल्याइएको इ–लर्निङका प्रबन्ध निर्देशक सुबोध त्रिपाठीले जानकारी दिनुभयो । “यस्तो विश्व प्रसिद्ध टेक कम्पनीको कार्यक्रम नेपालमा ल्याउन पाउनु हाम्रो लागि गौरवको विषय हो”, उहाँले भन्नुभयो, “अहिले सूचना प्रविधिको व्यापक विकाससँगै यसका चुनौतीहरु देखापरेका छन् । हामीले हाम्रा बालबालिकालाई चुनौतीका सामना गर्नसक्ने र आइटीको नवीनतम् प्रविधिहरुको ज्ञान हासिल गर्ने बनाउन जरुरी छ ।”

‘आर्टिफिसियल इन्टेलिजेन्स’, ‘साइबर’ सुरक्षा र ‘ब्लकचेन’ गरी तीन वटा सूचना प्रविधिका क्षेत्र समेटेर नेपाललगायत दक्षिण एसियामै पहिलोपटक सुरु गरिएको यस कार्यक्रममा ४० देखि ६० घण्टाका विभिन्न सात कोर्स समावेश छन् । यो कोर्स लिन सुरुवाती चरणमा प्रति विद्यार्थी मासिक रु आठ सय ५० देखि माथिल्लो कोर्षका लागि दुई हजार एक सय ५० शुल्क तोकिएको छ ।  

‘आइबिएम’को विद्यालय कार्यक्रमबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष कुमार घिमिरेले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन आइबिएम उपयोगी हुने बताउनुभयो । 

सूचना प्रविधि विज्ञ विनोद ढकालले सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति अभिवृद्धि गर्न सरकारले अघि सारेको डिजिटल नेपाल फ्रेमवर्कको अवधारणालाई कार्यक्रमले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘आइबिएम’ विद्यालय कार्यक्रम नेपालका सल्लाहकार डा सुभाष प्याकुरेलले कार्यक्रममार्फत नेपालीले विश्वबजारको बौद्धिक वृत्तमा प्रवेश गरी देशको अर्थतन्त्रमा टेवा पुग्न सक्ने धारणा राख्नुभयो ।

प्रविधि कम्पनीमध्ये ‘आइबिएम’ सबैभन्दा बढी (एक लाख २२ हजारभन्दा बढी) युएस पेटेन्ट आफ्नो नाममा दर्ता गरेको कम्पनी हो । सन् १९८१ मा विश्वमै पहिलो व्यक्तिगत कम्प्युटर बजारमा ल्याएको आइबिएमले संसारको सबैभन्दा उच्च गतिको कम्प्युटर निर्माण गरेको छ । कम्पनीमा आबद्ध कर्मचारीले विभिन्न आविष्कारका लागि छ वटा विश्वप्रसिद्ध नोबेल पुरस्कार पाइसकेको जनाइएको छ ।   

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?