Sunday, September 8, 2024

ट्रेन्डिङ :

दूरसञ्चार प्राधिकरणका कर्मचारीहरु आन्दोलनमा, कर्मचारी युनियनले शुरु गर्यो चरणबद्ध आन्दोलन

नेपाल दूरसञ्चार प्राधिकरण, स्वतन्त्र कर्मचारी युनियनले आफ्ना मागहरु पुरा नगरेको भन्दै आजदेखि चरणबद्ध विरोधका कार्यक्रमहरु शुरु गरेको छ। प्राधिकरण व्यवस्थापन समक्ष राखेका आफ्ना कुनैपनि मागहरु सम्बोधन नभएको भन्दै पहिलो चरणमा कालो ब्यानर र कालोपट्टि बाँधेर आन्दोलन शुरु गरेका छन्।

यसअघि आफूले विभिन्न समयमा राखेका मागहरु सम्बोधन नभएको भन्दै पटक पटक व्यवस्थापनलाई माग सम्बोधनका लागि समय दिएका थिए। युनियनका अध्यक्ष शिव राज जैसीकाअनुसार प्राधिकरणको कार्यालय रहेको भवन वातावरण मैत्री नभएको र कर्मचारीहरुमा पटक पटक स्वास्थ्य जटिलता देखिएको छ।

“हाम्रो मुख्य माग भनेकै प्राधिकरणका कर्मचारीहरुले उचित स्वस्थ्य वातावरणमा काम गर्न पाउनुपर्छ भन्ने हो,” उनले भने।

प्राधिकरण भवनमा कार्यरत कर्मचारीहरु नियमितरुपमा बिरामी हुने अवस्था रहेको र मृत्युसम्म भएको युनियनले बताएको छ।

युनियनले यसअघि अध्यक्ष भुपेन्द्र भन्डारीलाई बुझाएको ज्ञापन पत्रको एक बुँदामा पनि “मौजुदा नेपाल दूरसञ्चार प्राधिकरणको भवनमा कार्य सम्पादनका दृष्टिकोणले उचित र पर्याप्त अक्सिजन र प्रकाशको न्युनतम मापदण्ड समेत नपुगेकोले अधिकांश कर्मचारीहरु स्वास्थ्य समस्या देखिएको सन्दर्भमा उचित स्वास्थ्य वातावरणमा काम गर्ने वातावरण निर्माण गर्नको लागि” माग गरिएको छ।

कर्मचारी युनियले यसअघि असार ३० गते अन्तिम १० दिनको समय तोकेर प्राधिकरणका अध्यक्षलाई आफ्ना मागहरु पुरा गर्न आग्रह गरेको थियो।

यसअघि प्राधिकरणको संस्थागत, संरचनागत र ब्यबस्थापकीय पक्षको सुधार गर्नका लागि रचनात्मक सुझाबसहित कर्मचारी युनियनले विभिन्न माग पेश गरेको बारेमा स्मरण गराउँदै युनियनले  २०८० जेठ २४ गते तिस दिने समयसिमा दिई माग सम्बोधनको लागि प्राधिकरणको पुनः ध्यानाकर्षण गराएको थियो।

युनियनले यसअघिनै दिएको १० दिनको अवधि पुरा भएलगत्तै आजदेखि आन्दोलन शुरु गरेको हो। युनियनले पहिलो चरणमा चार दिन कालो ब्यानर र कालो पट्टि बाँध्ने भएको छ भने दोस्रो चरणमा दुई दिनसम्म पहिलो आधा दिन पेन डाउन गर्ने भएको छ।

यसैगरी तेस्रो चरणमा डिजिटल सिग्नेचर व्यवस्थापनलाई बुझाएर प्राधिकरणको कामकारबाही ठप्प पार्दै एक सातासम्म अध्यक्षको कार्यकक्ष घेराउ गर्ने योजना राखेको छ।

यस अवधिमा समेत माग सम्बोधन नभएको खण्डमा नेपाल दूरसञ्चार प्राधिकरण, स्वतन्त्र कर्मचारी युनियनले माग पुरा नभएसम्मको अवधिका लागि अध्यक्षलाई कार्यालय प्रवेश निषेध गर्ने भएको छ।

यसका साथमा युनियनले मुख्य चार मागहरु तत्काल पुरा गर्न समेत अध्यक्षसँग आग्रह गरेको छ।

यस्ता छन चार मागहरु-

१. नेपाल दूरसञ्चार प्राधिकरणको आफ्नै स्वामित्वको घर/जग्गा तथा भवन निर्माण कार्यको सुनिश्चितता गर्नको लागि जोडदार माग गर्दछौ ।

२. मौजुदा नेपाल दूरसञ्चार प्राधिकरणको भवनमा कार्य सम्पादनका दृष्टिकोणले उचित र पर्याप्त अक्सिजन र प्रकाशको न्युनतम मापदण्ड समेत नपुगेकोले अधिकांश कर्मचारीहरु स्वास्थ्य समस्या देखिएको सन्दर्भमा उचित स्वास्थ्य वातावरणमा काम गर्ने वातावरण निर्माण गर्नको लागि जोडदार माग गर्दछौं।

३. नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरूसँग सम्बन्धित नीति, नियम, गुरूयोजना, पदपूर्ति तथा ओ एण्ड एम सर्भे लगायतका विषयहरूमा कर्मचारीहरूको हक हित, उत्प्रेरणा, पूर्वानुमानयोग्य वृति-विकास सुनिश्चितता हुने गरी तत्काल अगाडी बढाउनको लागि जोडदार माग गर्दछौ।

४. समग्र दूरसञ्चार सुधारको लागि यस युनियनले पेश गरेको मागहरू अक्षरस; कार्यान्वयन गर्नको लागि पुनः जोडदार माग गर्दछौँ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?