प्रसुति गराउँदा रुपन्देहीस्थित ओम अस्पतालको लापर्बाहीको कारण ज्यान गुमाएकी श्री शान्ति नमुना माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सिर्जना पौडेलको परिवारलाई शिक्षक कर्मचारीबाट उठेको २ लाख ३५ हजार ४ सय ४० रुपैयाँ तथा विद्यार्थीहरुबाट संकलित १ लाख ३३ हजार गरी कुल ३ लाख ६८ हजार ४ सय ४० रुपैयाँ सहयोग प्रदान गरिएको छ ।
पौडेलका दुई छोरीको नाममा बैंकमा खाता खोली राख्ने गरी रकम हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले बताउनुभयो । त्यस्तै विद्यालयको शिक्षक कर्मचारी कल्याण कोषबाट रु. ५० हजार किरिया खर्चका लागि मृतक पौडेलका श्रीमान् युवराज बेल्वासेलाई विद्यालयका प्रधानाध्यापक लामिछानेले हस्तान्तरण गर्नुभयो । यस्तै विद्यालय वयवस्थापन समितिले उहाँका दुबै छोरीहरुलाई कक्षा १२ सम्म निःशुल्क अध्यापन गराउने निर्णय गरेको छ।