Friday, September 20, 2024

ट्रेन्डिङ :

टेलिफोनको पहुँच बाहिर ४० गाउँपालिका

काठमाडौँ । अझैसम्म पनि देशका ४० वटा गाउँपालिकाको केन्द्रमा टेलिफोन र इन्टरनेट पहुँच पुगेका छैनन् । सुदूरपश्चिमको बझाङ, दार्चुला र बाजुरा, कर्णाली प्रदेशका जाजरकोट र डोल्पा, लुम्बिनी प्रदेशका पूर्वी रुकुम र पश्चिमी रोल्पाका स्थानीय तहमा यो समस्या रहँदै आएको छ ।

गण्डकी प्रदेशको पश्चिमी बागलुङ र उत्तरी गोरखा, नेपाल टेलिकमको टावर नहुँदा टेलिफोन र इन्टरनेटको पहुँचबाट गाउँपालिकाहरू वञ्चित भएका हुन् । त्यहाँको पालिकाका प्रशासनमा समेत आधुनिक सञ्चार सेवा पुग्न नसकेको गाउँपालिका महासङ्घले जनाएको छ ।

बागमती प्रदेशको दक्षिणी ललितपुर र काभ्रेको डाँडापारि क्षेत्रमा प्रदेश १ को माथिल्लो सङ्खुवासभा र उदयपुर तथा खोटाङको सुनकोसी क्षेत्रमा पनि नेपाल टेलिकमको टावर नहुँदा टेलिफोन र इन्टरनेटको पहुँचबाट गाउँपालिकाको प्रशासनिक केन्द्रहरू वञ्चित भएका छन् ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले मङ्गलबार भर्चुअल पत्रकार सम्मेलन गरी उक्त जिल्लाका गाउँपालिकामा इन्टरनेट र टेलिफोनको पहुँच नपुगेको जनाएको हो । ती गाउँपालिकाको आसपासको बस्तीलाई समेत सेवा पुग्ने गरी नेपाल टेलिकमको टावर स्थापना गर्नु अति आवश्यक भएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो ।

यस्तै २७२ स्थानीय तहमा निर्माण गरिने आधारभूत अस्पतालको काम सुरु गर्न बजेट निकासा भए पनि प्रभावकारी र एकीकृत ढङ्गले काम अघि बढाउन महासङ्घलगायतका सङ्घसंस्थासँग छलफल आवश्यक रहेको महासङ्घले जनाएको छ । स्वास्थ्य बीमा कार्यक्रमका लागि सात अर्ब ५० करोड विनियोजन गरिए पनि यसलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले देखिने गरी कार्य गर्नुपर्ने, दुुई सयवटा खाद्य भण्डारण केन्द्र र ७८ वटा थोक कृषि बजार निर्माण गर्न सङ्घीय सरकारबाट अनुदानको व्यवस्था भए पनि हालसम्म स्थानीय तहको छनोटका लागि कार्यविधि तयारी र सूचना प्रकाशन नभएको प्रति महासङ्घले आपत्ति जनाएको छ ।- गोरखापत्र अनलाइनबाट

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?