Monday, September 16, 2024

ट्रेन्डिङ :

विश्वविद्यालय आफ्नो लक्ष्य र उद्देश्यबाट विमुख हुनुहुँदैन- नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विश्वविद्यालय आफ्नो लक्ष्य र उद्देश्यबाट विमुख हुन नहुने बताएका छन् । नेपाल प्राध्यापक संघ संगको कार्यकममा सुदूरपश्चिम र राजर्षि जनक विश्वविद्यालयले देशभरका दर्जनौं क्याम्पसलाई सम्बन्धन दिइरहेको प्रति इंगित गर्दै महरले पहिला विश्वविद्यालय आफैँमा व्यवस्थित हुनुपर्ने बताएका हुन् ।

‘देशभित्र प्रादेशिक रुपमै विश्वविद्यालय खोल्ने लहर चलेको छ। प्रादेशिक स्तरमा खुलेका विश्वविद्यालयले लक्ष्य र उद्देश्य विमुख भएर सम्बन्धन वितरण गर्ने कार्य भइरहेको छ । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी घट्दै गएको अवस्थामा प्रादेशिक तह‌मा विश्वविद्यालय विस्तार गर्दै जानुको औंचित्यमाथि प्रश्न उठेको छ,’ उनले भने । नेता महरले आफ्नो क्षमता वृद्धि नगरी संरचना मात्र विस्तार गर्ने विषय उपयुक्त नहुने धारणा व्यक्त गरे ।

‘विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुनुहुन्छ। यस्तो लापरबाहीमा कुलपति जानकार भएको हो भने अचम्म मान्नुपर्छ । राज्यले कति विश्वविद्यालय आवश्यक छन् भन्ने कुरा र विश्वविद्यालयले  सम्बन्धनलगायत सवाललाई अगाडि बढाउँदा शिक्षा नीति एवं वर्तमान संविधान‌को उद्देश्य मनन् गरिनुपर्छ,’ उनले भने।

लोककल्याणकारी राज्यमा शिक्षा राज्यको दायित्व भएकाले सोही अनुरुप सरोकारवाला अगाडि बढ्नुपर्ने उनको भनाइ छ । विश्वविद्यालयको उद्देश्य राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति निर्माण गर्नु भएकाले त्यसैमा केन्द्रित हुन उनले सुझाव दिए ।

विद्यमान उच्च शिक्षा प्रणाली राज्यको दायित्ववाट बाहिर जान थालेको र विश्वविद्यालयबाट उत्पादित जनशक्ति विदेशीका लागि उत्पादन गरेजस्तो देखिएको महरको टिप्पणी छ । उच्च शिक्षामा विद्यमान समस्या समाधानका लागि सरकारसहित सरोकारवाला सबै निकाय गम्भीर र जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?