ओमप्रसाद भुसाल
जसले अक्षर वा लिपि चिनेको छ त्यो साक्षर हो । साक्षर हुने अवस्था नै साक्षरता हो । यसले अलिअलि लेखपढ गर्न सक्ने अल्पशिक्षित अवस्थालाई जनाउँछ । हाम्रो सन्दर्भमा हेर्ने हो भने कुनै व्यक्तिले आफ्नो नाम लेख्न, पढ्न अथवा हस्ताक्षर गर्न सक्ने भाषिक योग्यताका साथै दैनिक जीवनमा आइपर्ने सामान्य गणितीय हिसाबकिताब राख्न वा पैसा चिनेर कारोबार गर्न सक्ने अवस्थालाई साक्षर मानिन्छ ।
मौखिक र लिखित गरी साक्षरता दुई किसिमका हुन्छन् । मौखिक साक्षरताको इतिहास धेरै लामो छ। पहिले गुरूकुल, धार्मिक संस्था तथा शासकहरूले मौखिक प्रकृतिको साक्षर अभियान सञ्चालन गर्थे। तिनीहरूको उद्देश्य जातीय संस्कार, नैतिक उपदेश तथा कानुनी आदेश दिनु हुन्थ्यो । लेख्य साक्षरतालाई किताबी साक्षरताका रूपमा पनि लिन सकिन्छ । यसको इतिहास त्यति लामो छैन। नेपालमा शिक्षाको विकाससँगै लेख्य साक्षरताको सुरूवात भएको हो । वि.सं. २००४ को आधार शिक्षालाई यसको प्रस्थान बिन्दु मान्न सकिन्छ । वि.सं. २००७ मा राणा शासनको पतन हुने बेलासम्म नेपालको साक्षरता पुरुष १.३ र महिला ०.७ गरी २ प्रतिशत मात्र थियो ।
वि.सं. २०१३ देखि मात्र योजनाबद्ध विकासको अवधारणा आयो र यसले शिक्षालाई जीवनसँग जोडेर हेर्नुपर्ने कुरालाई अघि सार्दै प्रौढ र कार्यमूलक साक्षरतामा जोड दियो । वि.सं. २०३५ देखि साक्षरता कार्यक्रमले अझ व्यापकता पायो । लोकतान्त्रिक जनआन्दोलनको मर्मअनुरूप विविध साक्षरताका कार्यक्रम अगाडि सारिए। सरकारले २०६५ सालबाट साक्षरता अभियान सुरु गरेको थियो । ग्रामीण साक्षरता, महिला साक्षरता, बाल साक्षरता, जातीय साक्षरता, दलित साक्षरता, निरक्षरता उन्मूलन, विद्यालय भर्ना कार्यक्रम, सबैका लागि शिक्षा, निःशुल्क र अनिवार्य शिक्षा आदि अभियानहरू लेख्य साक्षरता विकासका महत्त्वपूर्ण कडी हुन् । सरकारले सन् २०१५ सम्ममा देशलाई पूर्णसाक्षर घोषणा गर्ने भनी अन्तर्राष्ट्रिय रूपमा लिखित प्रतिबद्धता पनि जनाएको थियो। विभिन्न राजनीतिक दलहरूले आफ्नो चुनावी घोषणापत्रमा विद्यालय भर्नालाई शतप्रतिशत बनाई निःशुल्क शिक्षाका माध्यमबाट पूर्ण साक्षर मुलुक घोषणा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। सोहीअनुसार बनेको नेपाल सरकारले देशबाट निरक्षरता उन्मूलन गर्ने घोषणा गरेको गर्यो तर अस्थिर राजनीति र सत्ता सङ्घर्षले त्यो पूरा हुन सकेन।
जनगणना २०६८ अनुसार नेपालको कुल साक्षरता दर ६५.९ प्रतिशत थियो। जसमा पुरुषहरूको साक्षरता दर ७५.१ प्रतिशत र महिलाहरूको साक्षरता दर ५७.४ प्रतिशत भएको तथ्याङ्क थियो। अनौपचारिक शिक्षा केन्द्रले आर्थिक वर्ष २०७२ मा सार्वजनिक गरेको ‘साक्षर नेपाल अभियान’ नामक प्रतिवेदनमार्फत् मुलुकका ८१ प्रतिशत जनता साक्षर भएको दाबी गरे तापनि वि.सं. २०७८ सालको जनगणनाको साक्षरता दरसम्बन्धी प्रतिवेदनअनुसार, पुरुषहरूको साक्षरता दर ७५.६ प्रतिशत र महिलाहरूको साक्षरता दर ६५.५ प्रतिशत रहेको छ। समग्रमा नेपालको कुल साक्षरता दर करिब ७१.६ प्रतिशत रहेको तथ्याङ्क छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार पाँच वर्षमाथिको साक्षरता दर ७६.२ प्रतिशत छ । त्यस्तै १५ देखि ६० वर्षसम्मको साक्षरता दर ८५ प्रतिशत रहेको छ। उक्त तथ्याङ्कहरूको विश्लेषण गर्दा नेपालको साक्षरता दरमा तुलनात्मक रूपले सुधार भए पनि अझै लैङ्गिक असमानता विद्यमान रहेको देखाउँछ।
कुनै पनि क्षेत्रमा १५ वर्ष वा सोभन्दा माथिको उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएपछि पूर्ण साक्षर क्षेत्र घोषणा गर्ने प्रावधान छ । नेपालमा पछिल्लो समयमा साक्षर गाउँ, साक्षर नगर, साक्षर जिल्ला घोषणा गर्ने होड नै चलेको छ। गरिबी, चेतनाको कमीलगायतका कारण तराई र दुर्गम क्षेत्रमा साक्षरता अभियानले सार्थकता पाउन सकेको छैन। गरिबीकै कारण पेट पाल्नकै लागि छोराछोरीलाई पढाउनभन्दा पनि अभिभावकहरूले तिमीहरूलाई लिएर काममा जाने गर्छन्। यस्तो अवस्थाले साक्षर मुलुक अभियान चुनौतीको विषय बनेको छ।
नेपाली जीवनस्तर सर्वेक्षण सन् २०२२/०२३ अनुसार नेपालको महिलाको साक्षरता दर ७०.१ प्रतिशत, पुरुषको साक्षरता दर ८५.८ प्रतिशत र कुल साक्षरता दर ७७.४ प्रतिशत रहेको तथ्याङ्क सार्वजनिक गरेको छ। प्रदेशगत हिसाबले नेपालको साक्षरता निम्नानुसार रहेको तथ्याङ्क छ:
१. कोशी प्रदेश
महिला ७०.४, पुरुष ८७.१, कुल ७८.२
२. मधेस प्रदेश
महिला ५९.९, पुरुष ७७.९, कुल ६८.३
३. बागमती प्रदेश
महिला ७६.८, पुरुष ८९.४, कुल ८३
४. गण्डकी प्रदेश
महिला ७६.८, पुरुष ९१.३, कुल ८३.४
५. लुम्बिनी प्रदेश
महिला ७४.२, पुरुष ८७.४, कुल ८०.१
६. कर्णाली प्रदेश
महिला ६८.९, पुरुष ८६.६, कुल ७६.६
७. सुदूरपश्चिम प्रदेश
महिला ६५, पुरुष ८५.१ कुल ७३.५
माथिको तथ्याङ्कलाई हेर्दा नेपालले पूर्ण साक्षरताका लागि अझ थप योजनासहित अगाडि बढ्नुपर्ने देखिन्छ। पुरुषको तुलनामा महिलाहरूको साक्षरता कम हुनु चुनौतीको विषय रहेको छ। गत वर्ष नेपाल सरकारले सार्वजनिक गरेको सूचनाअनुसार मधेश र कर्णाली प्रदेशका जिल्लाहरूमा साक्षरताको स्थिति अपेक्षित सुधार हुन सकेको छैन। यसै परिस्थितिका बाबजुद पनि सबै पक्षलाई सुधार गरेर अबको केही समयमा सरकारले नेपाललाई पूर्ण साक्षर मुलुकको रूपमा घोषणा गर्ने योजना बनाएको छ। तथ्याङ्क त्यसैतर्फ लक्षित भएको पनि देखिन्छ। यद्यपि साक्षर नेपाल घोषणालाई सबथोक भयो भनेर आत्मरति लिने अवस्था पनि छैन किनकि प्रविधिको विकासले विश्व परिस्थिति धेरै अगाडि बढिसकेको छ। प्रविधिसँग साक्षात्कार गर्ने जनशक्तिलाई मात्र साक्षर मान्ने परिस्थिति निर्माण भएको छ।
प्रविधिमैत्री साक्षरता बिनाको साक्षरताले एक्काइसौँ शताब्दीको मानिसको आवश्यकतालाई पूरा गर्न सक्दैन । हालसम्म सरकारले ल्याएको साक्षरता अभियान एक हदसम्म सार्थक छ तर के यसले पूर्ण रूपमा व्यक्तिको आवश्यकतालाई पूरा गरेको छ त ? के दिनानुदिन बढ्दै गएको ज्ञानको विस्फोट र विकासको उचाइलाई यसले पछ्याउन सक्ला त ? के अति आवश्यक बनिसकेको इमेल, इन्टरनेटलगायतका विभिन्न सामाजिक सञ्जालको प्रयोगमा अहिलेको साक्षरता जोडिएको छ त ? प्रविधिको सुरक्षित प्रयोग कसरी गर्ने र यसको दुरुपयोग हुनबाट कसरी बच्ने? प्रविधिगत लत के हो र यसले पार्ने प्रभावहरू के कस्ता छन्? आदि बारेमा आम सर्वसाधारणलाई सचेत गराउन साविकको साक्षरता सक्षम छ त? यसको पूर्णता माथि प्रश्न उब्जन्छ।
कोही भन्छन्, प्रविधिले मानिसलाई एक्लो र अलग बनाएको छ । मानिसमा सामाजिक भावना हराएको छ। ऊ एउटै परिवारभित्र बिरानो भएको छ। यस कुरामा केही सत्यता छ तापनि यसका सकारात्मक पक्षलाई नजरअन्दाज गरिनु हुँदैन । डिजिटल प्रविधिको प्रयोगले विश्वलाई एउटा गाउँ जस्तै बनाइदिएको छ । यसले दूरदराजका ज्ञानलाई औँलामा ल्याइदिएको छ । टाढिएका आफन्तलाई नजिक ल्याएको छ । अब भान्छामा काम गर्ने गृहणीले विश्वमा बन्ने हरेक परिकार प्रविधिका माध्यमबाट चाख्न र चखाउन सक्ने भएकी छन् । खेती गर्ने किसानले अब जेटिए तथा पशु चिकित्सक गुहार्नु पर्दैन। आफ्नो भविष्य कोर्न खाडी झरेका प्यारा छोरानातिसँग मुखामुख कुराकानी गर्न पनि प्रविधिले सहज पारिदिएको छ । डिजिटल साक्षरता बिना साविकको साक्षरता अभियानले यी कुरालाई समेट्न सक्दैन । यीबाहेक डिजिटल साक्षरता सिकारूलाई थप अध्ययनका निम्ति स्वयम् उत्साहित गर्न, थप कुशलता प्राप्त गर्न, बहुमुखी क्षमता विकास गर्न साथै पेसामा लागेर व्यस्त जीवनशैली अपनाएकाहरूलाई सहजै अद्यावधिक हुन र जीवनको उत्तरार्धमा आफूलाई व्यस्त राख्नसमेत उपयोगी हुने देखिन्छ । एउटै स्थानमा निरन्तर रही चार दिवारमा समय सीमाबद्ध भई सिक्नुपर्ने औपचारिकताबाट बाहिर निस्की सिक्न र सिकाउन सकिने, बहुआयामिक ज्ञान र सिप विकासको लागि लक्षित समूहमा अझ बढी प्रभावकारी मान्न सकिन्छ ।
प्रविधिमा आधारित साक्षरता नै डिजिटल साक्षरता हो । यसको पृष्ठभूमि कम्प्युटरको आविष्कारसँगै भएको मान्न सकिन्छ । कम्प्युटर एउटा यस्तो विद्युतीय उपकरण हो जसले त्रुटिरहित ढङ्गले छिटो, प्रभावकारी र विश्वसनीय रूपमा विभिन्न तथ्याङ्कहरू प्रशोधन गरी भण्डारण गर्न र चाहिएको बेला उपलब्ध गराउन सक्छ। एउटा सानो विद्युतीय उपकरणमा मानिसलाई चाहिने हरेक ज्ञान र सिप सुरक्षित हुन्छन् । त्यसैबाट मानिसले उचित धारणा निर्माण गरी आफूलाई विश्वमा समायोजन गर्न सक्छ । अचेल इन्टरनेट र सूचना प्रविधिले मानव सभ्यताका अरबौँ वर्षको योग्यतालाई क्षणभरमै निस्तेज गरिदिएको छ । यसर्थ अबको हाम्रो गन्तव्य डिजिटल साक्षरतामा केन्द्रित हुनु आवश्यक छ।
अहिले सूचना प्रविधिका क्षेत्रमा कम्प्युटर, मोबाइल, इन्टरनेट, सामाजिक सञ्जाललगायत विविध साधन छन् । यिनले मानिसलाई सिक्ने र सिकाउने तरिकामा क्रान्ति ल्याई सामाजिकीकरणमा सघाएका छन् । सार्थक ज्ञान हासिल गरी सहज र प्रभावकारी सेवा प्रवाहका निम्ति पनि प्रविधिले नै सघाएको छ । जसले प्रविधिसँग साक्षात्कार गर्न सकेको छ, उही अब्बल छ। जुनजुन क्षेत्र अगाडि छन् त्यहाँ प्रविधिको पहुँच देख्न सकिन्छ । जुनजुन क्षेत्र पछाडि छन् त्यहाँ प्रविधिको पहुँच कम छ । दुई चार सावा अक्षर चिन्दैमा साक्षर भइयो र चिनाउदैमा साक्षर बनाइयो भनेर गर्व गर्ने र विश्राम लिने अवस्था छैन । नहुनुभन्दा ती पनि केही हुन् तर डिजिटल प्रविधिको मिश्रण बिना तिनलाई पूर्ण मान्न सकिँदैन । प्रविधिमैत्री साक्षरता मात्र साँचो अर्थमा साक्षरता भएकोले सरोकारवाला सबै त्यसैतर्फ केन्द्रित हुनु जरूरी छ ।
अहिले हरेक क्षेत्रमा प्रविधिको प्रयोग अनिवार्य जस्तै भएको छ। शिक्षा, स्वास्थ्य तथा जनजीविकाका क्षेत्रमा यसले हस्तक्षेपकारी भूमिका खेलेको छ। राष्ट्रिय सूचना तथा नागरिकका विवरण प्रविधि मैत्री हुँदै गइरहेका छन्। वित्तीय कारोबारका लागि प्रविधिले सहज बनाइदिएको छ। एउटा सामान्य तरकारी पसलमा पैसाको कारोबार अनलाइनमार्फत् हुने व्यवस्था मिलाइएको हुन्छ। अहिले व्यक्तिले घरमै बसीबसी अनलाइनमार्फत् विभिन्न किसिमका कारोबारहरू सञ्चालन गर्ने तथा लेनदेनका हिसाब घरबाटै मिलाउन सक्ने परिस्थिति सिर्जना भएको छ। यसमा देशका सबै नागरिकहरू सक्षम छैनन्। यही कुरालाई मध्यनजर गरी हरेक नागरिकहरूमा डिजिटल साक्षरता अभियान चलाउनुपर्ने देखिन्छ।
विगतका दुई दशकमा सूचना र प्रविधिका क्षेत्रमा क्रान्ति नै भएको छ। हात हातमा मोबाइल र घरघरमा इन्टरनेटको पहुँच विकास हुँदै गएको छ। प्रविधिले हरेक क्षेत्रलाई निकै सहज बनाइदिएको छ तापनि विभिन्न किसिमका विकृतिहरू पनि देखापर्दै गइरहेका छन्। विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी अश्लील तथा अनैतिक गतिविधि भइरहेका छन्। अपराधीहरूले व्यक्तिको चरित्र हत्या गर्न प्रविधिको सहारा लिएका छन्। प्रविधिका माध्यमबाटै अवैध वित्तीय गतिविधि सञ्चालन गरिरहेका छन्। विश्वको जुनसुकै कुनाबाट पनि अपराधीहरूले प्रविधिमार्फत् जालझेल गरी सर्वसाधारणलाई सताउने र फसाउने गरेका छन्। कैयौँ नागरिकहरू प्रविधिकै माध्यमबाट ठगिएका छन्। प्रविधिका कारण सुरक्षा थ्रेट पनि बढ्दै गएको छ। यस्तो अवस्थामा प्रविधिको सदुपयोगका लागि पनि डिजिटल साक्षरता आजको आवश्यकता बनेको छ।
निष्कर्ष
संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर ८ तारिखका दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने गरिन्छ । यसको सुरुवात सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले गरेको थियो।। यही भदौ २३, २०८१ (सेप्टेम्बर ८, २०२४) मा ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ। यो दिवसको नारा ‘साक्षरता, विकासको कुञ्जी’ (Literacy, the Key to Development) रहेको छ। यसले अर्थपूर्ण विकासका लागि साक्षरतालाई अनिवार्य ठानेको छ। यो नारा साक्षरता र शिक्षा विकासको महत्त्वलाई जोड दिनका लागि राखिएको हो। नेपालले पनि यही नाराको मर्मअनुरूप साक्षरता अभियानमा जोड दिन जरुरी छ। एक्काइसौँ शताब्दीको नागरिकलाई विश्व बजारमा समायोजन हुन सक्ने बनाउनका लागि नेपालले पनि विशेष योजनाका साथ साक्षरता अभियान सञ्चालन गर्नुपर्छ। यसमा डिजिटल साक्षरता अभिन्न बन्नुपर्छ।
५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको शुभकामना!
ओमप्रसाद भुसाल, नेपाल पुलिस स्कुल, सामाखुसीका शिक्षक हुन्।