Friday, September 20, 2024

ट्रेन्डिङ :

पहिलोपल्ट मदन पुरस्कार समारोह अनलाइनबाट

काठमाडौं । मदन पुरस्कार गुठीले प्रत्येक वर्ष आयोजना गर्ने मदन पुरस्कार तथा जगदम्बाश्री सम्मान अर्पण समारोह पहिलोपल्ट अनलाइनमार्फत सम्पन्न गरेको छ । गुठीले कोरोना महामारीलाई मध्यनजर गर्दै अनलाइनमार्फत समारोह प्रत्यक्ष प्रसारण गरेको हो । कात्तिक २ गते सोमबार ३ बजे गुठीको वेवसाइट, फेसबुक तथा युट्युबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा भारत नैनीतालबाट इतिहासबार शेखर पाठकले महाकाली नदी वारिपारिको सीमाको इतिहासबारे विद्वत प्रवचन दिए ।

जगदम्बाश्री सम्मानबाट सम्मानित वरिष्ठ संगीतकार शान्ति ठटालले दार्जिलिङबाट आफ्नो मन्तव्य वाचन गरिन् । यस्तै महारानी उपन्यासमार्फत २०७६ सालको मदन पुरस्कार विजेता लेखक चन्द्रप्रकाश बानियाँले पोखराबाट आफ्नो मन्तव्य वाचन गरे । कार्यक्रममा संगीतकार ठटालले संगीतको कुनै सीमा नहुने भन्दै नेपाली संगीतको सेवामा जीवन अर्पण गर्न पाउँदा गौरवान्वित भएको बताइन् । मदन पुरस्कार विजेता उपन्यासकार चन्द्रप्रकाश बानियाँले भने इतिहासको एउटा घटनालाई लिएर आफूले लेखेको उपन्यास पुरस्कारकै कारण साहित्यिक खुराक बनेको स्वीकारोक्ति दिए ।

कार्यक्रमको सुरुमा संगीतकारको एक टोलीले स्वागत धुन प्रस्तुत गरेको थियो । एक घण्टाको समारोहमा आयोजकका तर्फबाट मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले आभार व्यक्त गरे । कार्यक्रमको प्राविधिक संयोजन गुठीको कार्यालय पाटनढोकाबाट भएको थियो । मदन पुरस्कार गुठीले २०१३ सालदेखि मदन पुरस्कार र २०४५ सालदेखि जगदम्बाश्री सम्मान दिँदै आएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?