धनगढी। हत्या गरिएको अवस्थामा शव फेला परेका धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी विट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिकको परिवार शोकमा डुबेको छ । घरको अभिभावक नै गुमाएपछि कञ्चनपुरको पुनर्वास नगरपालिका ९ ख गाउँमा बस्दै आएको उनको परिवारमा रुवावासी चलेको छ ।
अति विपन्न परिवारमा ३ जना दाजुभाइमध्येका माइलो विकले घरपरिवारको लालनपालनको जिम्मेवारी सम्हालेका थिए । भूमीहिन विपन्न परिवारका अभिभावक रहेका असई बिकले १२ जना परिवारको लालनपालन गर्दै आएका थिए । उनकी श्रीमती र दुई छोरी छन् । प्रहरी सेवामा ३ वर्ष मात्रै बिताएका विक २ महिना पहिले सुर्खेत जिल्लामा कार्यरत रहेका थिए । त्यसपछि उनी सरुवा भएर कैलाली आएका थिए ।
यसैबीच विकसँगै ड्युटीमा गएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था अझै पत्ता लाग्न सकेको छैन् । रातिदेखि सम्पर्क विहीन भएका विकको शव हत्या गरेर मोहना नदीमा फालेको अवस्थामा फेला परेपनि साउँदको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । उनको अवस्था बारे अहिलेसम्म थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक विष्टले बताए । बेपत्ता प्रहरी जवान साउँदको खोजीका लागि गोताखोर टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरीको अत्तरिया स्थित ७ नम्बर बाहिनीको गोताखोर टोली परिचालन भएको सशस्त्रका डिआइजी हरिशंकर बुढाथोकीले बताए ।