Monday, December 30, 2024
spot_img

ट्रेन्डिङ :

नेपालीको बाध्यता कि विवसता? दशैँमा पनि विदेशिनु पर्ने

spot_img
spot_img
spot_img

काठमाडौँ। स्वदेश र गन्तव्य दुवैमा एकातिर कोरोनाको त्रास अर्को मुखैमा आएको दशैँको रौनक । यस्तो परिस्थितिमा पनि विदेश जाने लर्को बढ्दै छ । लामो समयसम्म घरमा बेरोजगार बस्दा जीवन धान्नै धौधौ हुन थालेपछि धेरै नेपाली युवा दशैँको मुखैमा वैदेशिक रोजगारीमा जाँदै छन् । कोरोनाको डर र दशैँ मान्ने रहर हुँदाहुँदै पनि धेरै युवालाई विदेश जानुपर्ने बाध्यता परेको हो । यस्तैमध्येका हुनुहुन्छ पर्वत कुस्मा नगरपालिकाका राजुप्रसाद सुवेदी । गत फागुनमा साउदी अरबबाट तीन महिनाको घर बिदामा आउनुभएका सुवेदी गत जेठमै जानुपर्ने हो तर कोरोनाका कारण उडान बन्द भएर रोकिनुभयो र उडान खुल्यो, बल्ल जान थाल्नुभएको हो ।

१६ वर्षदेखि साउदीमा आउने–जाने गरिरहनुभएका उहाँले भन्नुभयो, “कोरोनाको बढ्दो त्रास र मुखैमा आएको दशैँ नमानी जाने रहर त कहाँ थियो र ! भर्खर घर बनाउँदै छु, ऋण लागेको छ, नगएर के गर्नु ?” उहाँजस्तै कुवेत जान श्रम हिँड्नुभएका चितवनका रामबहादुर केसीले विदेशको रोजगारी गुम्ने चिन्ताले मुखैमा आएको दशैँ छोडेर हिँडेको जानकारी दिनुभयो । भिसाको म्याद पनि सकिँदै छ । कम्पनीबाट पनि अहिल्यै आउन भनेको छ, त्यसैले जान लागेको, उहाँले निराश हुँदै भन्नुभयो, “हामीले विदेशमा सिकेको सीप लगाउने कुनै ठाउँ छैन यहाँ । जहाँ पनि आफूले चिनेको मान्छे भए मात्र काम बन्छ । त्यसैले यहाँ केही गर्न सकिन्नजस्तो लाग्यो । ”

रोजगारीको खोजीमा मलेसिया र खाडी मुलुकमा जानु धेरैको बाध्यता हो । गाउँमै, देशमै बस्दा पुग्ने भए किन परदेशिन पथ्र्यो होला र ! त्यसैमाथि एकातर्फ कोरोनाको त्रास अर्कोतर्फ मुखैमा आएको दशैँ छोडेर । गन्तव्य देशमा कोरोना जोखिम बढेपछि सरकारले गएको फागुन अन्तिमदेखि श्रम स्वीकृति रोकेको थियो । झन्डै चार महिनापछि गएको असारदेखि पुनः श्रम स्वीकृति र भदौदेखि नयाँ श्रम स्वीकृति दिन थालिएको छ ।

गत असारदेखि असोजसम्म १५ हजारभन्दा बढीले श्रम स्वीकृति लिइसकेका छन् । अघिल्लो वर्षको तुलनामा केही कम भए पनि यस्तो प्रतिकूल परिस्थितिमा पनि यति धेरै युवा वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताउनुभयो । दशैँ, तिहारको समयमा श्रम स्वीकृति लिनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा केही मात्र कम भएको छ, उहाँले भन्नुभयो, “कम हुनुको कारण एक त सबै देशले आगमन खोलेको छैन, अर्को कोरोनाको जोखिम हुनसक्छ । ”

वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय, ताहाचलका अनुसार असोजमा मात्रै आठ हजार ९७ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसअघि असारमा दुई हजार ४९४, साउनमा दुई हजार ९७९ जना र भदौमा एक हजार ५२५ जनाले श्रम स्वीकृति लिएका थिए ।
सो कार्यालयका अनुसार असोजमा श्रम स्वीकृति लिएकामध्ये सात हजार ६७६ पुरुष र ४२१ महिला छन् । चार हजार ५०५ जनाले पुनः श्रम स्वीकृति, ४०१ जनाले वैधानीकरण गरेर र ५१६ जनाले व्यक्तिगत तवरले नयाँ श्रम स्वीकृति लिएको सो कार्यालयले जनाएको छ ।

असोजमा वैदेशिक रोजगारीमा जानलाई श्रम लिनेमध्ये सबैभन्दा बढी साउदी अरबका लागि दुई हजार ८३१ जना छन् । त्यसपछि संयुक्त अरब इमिरेट्स (यूएई)का लागि दुई हजार ६५१ जना, कतारका लागि एक हजार ३५१ जनाले श्रम स्वीकृति लिएको सो कार्यालयले जनाएको छ ।- गोरखापत्र अनलाईनबाट

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?