Thursday, December 26, 2024
spot_img

ट्रेन्डिङ :

दार्चुलामा समुदायमा कोरोना फैलिएपछि सेना परिचालन

spot_img
spot_img
spot_img

दार्चुला– सदरमुकाम खङ्लगाको समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो । महाकाली नगरपालिकाको वडा नं ४ र ५ को बजार सिल गरिएको भए पनि व्यापारीले कानूनको उल्लंघन गरेको भन्दै सुरक्षा समितिले सेनासमेत बजारमा खटाएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए । अहिले नेपाल प्रहरी र नेपाली सेनाले बजारमा रहेका पसल बन्द गराउने गरेका छन् । व्यापारीले भने सुरक्षाकर्मीलाई छलेर व्यापार गर्ने गरेका छन् । मंगलबार प्रमुख जिल्ला अधिकारी पोखरेल, सुरक्षा अधिकारीहरुले पनि बजार क्षेत्रको अनुगमन गरेका थिए ।

महाकाली नगरपालिकामा कोरोनाको संक्रमण फैलिरहेका बेला बजार क्षेत्र निर्वाधरूपमा खुला हुँदा झन् जोखिम बढ्ने प्रजिअ पोखरेलले बताए । बुधबारमात्र नगरपालिकाका ५० जनामा कोरोना देखिएको छ । जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या २५० नाघेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्र्वाटरमा ६३ जनामा कोरोना देखिएपछि गण सिल गरिएको छ । सशस्त्रको गस्ती बन्द गरिएको छ । नगरपालिकाको मोहती क्षेत्र, बंगाबगडलगायतका क्षेत्रमा कोरोना दर बढ्दै गइरहेको छ । सुरक्षा मापदण्ड नपनाउँदा नगरपालिकाको बजार क्षेत्रमा कोरोना संक्रमणको दर बढ्दै गएको जनस्वास्थ्य अधिकृत जयराज भट्ट बताउछन् ।

मंगलबार मात्रै दुहु गाउँपालिकामा एक पुरुषको कोरोनाका कारण मृत्यु भइसकेको छ । धनगढीमा उपचार गराउँदै आएका नेपाल प्रहरीका पूर्वकर्मचारीसमेत रहेका ती पुरुषको कोरोनाका कारण ज्यान गएको हो । जिल्ला प्रशासन कार्यालयले दुहुको वडा नं २ हिकिला क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

दुहुमा एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भई आइसोलेसनमा बसिरहेकाले समुदायस्तरमा फैलिन नदिन सिल गरिएको हो । दशैँ, तिहारका कारण बजार क्षेत्रमा भीडभाड भने यथावत छ । बैंक, वित्तीय संस्था र कार्यालय खुला रहेका कारण बजारमा भीड बढेको हो । भारतबाट पेन्सन बुझ्ने व्यक्तिका कारण अहिले बजारमा भीड बढेको छ । पेन्सन बुझ्नेहरुका लागि तीन दिन नेपाल–भारत जोड्ने झोलुङ्गे पुल खुला गरिएको छ । अहिले धनगढी, काठमाडौँ र भारतका विभिन्न शहरबाट आउने व्यक्ति क्वारेन्टिन नबसी सिधैँ गाउँ पठाइँदा गाउँमा समेत संक्रमणको जोखिम बढेको छ । –रासस

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?