Wednesday, October 16, 2024

ट्रेन्डिङ :

भक्तपुरमा दुई दिने नेपालभाषा साहित्य सम्मेलन सुरु

भक्तपुर । जनता म्वाःसा भाषा म्वाई (जनता रहे भाषा रहन्छ) भन्ने उदघोषका साथ सोमबारदेखि ४४ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत सम्मेलन) भक्तपुरको कमलविनायकमा सुरु भएको छ ।

सबै जनजाति, संस्कृति, भाषा र साहित्यको उत्थान गरी आमूल परिवर्तनको निम्ति आवाज उठाउँदै आएको तःमुंज्या असोज २८ र २९ गते दुई दिन साहित्य सम्मेलन तथा सांस्कृतिक कायक्रमका साथ हुनेछ ।  द्वादशी र त्रयोदशीका दुई दिन हुने सम्मेलन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष वरिष्ठ राजनीतिज्ञ एवं माक्र्सवादी साहित्यकार नारायणमान बिजुक्छेँ (रोहित) को समुपस्थिस्तिमा भएको आयोजकले जनाएको छ ।

साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम भक्तपुर नगरपालिका वडा नं ९ स्थित लाँम्हुग (लामगााल) टोलमा बिहान ११ बजे सुरु भएको हो । सम्मेलनको उदघाटन विहान स्थानीय सांस्कृतिक गुरु एवं किसान अगुवा पुनवीर गैडाले गरे । पहिलो दिनको सम्मेलनको सभापतित्व इन्जिनियर एवं उपप्राचार्य रत्नशोभा प्रजापति र दोस्रो दिनको सभापतित्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी विनोदचरण रायले गर्ने कार्यक्रमा तय भएको आयोजकले जनाएको छ ।

तःमुंज्याले समाज, देश र जनताको निम्ति महच्वपूर्ण योगदान गर्ने महानुभावहरूलाई सम्मान गर्दै आएको छ । यस वर्ष पनि विभिन्न क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेका व्यक्तित्वहरूलाई सम्मान गरेको छ । आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजुका अनुसार सम्मानित हुने व्यक्तित्वहरूमा कवि दुर्गालाल श्रेष्ठ, सम्पदा संरक्षणमा निरन्तर लागिपरेका भागवत नरसिंह प्रधान, शिक्षासेवी मोहनप्रसाद प्रजापति छन् । त्यस्तै समाजसेवी जगतलाल मानन्धर, बौद्धिक व्यक्तित्व रत्नसुन्दर शाक्य, अग्रज किसान कार्यकर्ता ललित अवाल, पुराना सफाइ मजदुर गणेशराम दुवाल र सांस्कृतिक गुरु रत्नभक्त न्हेम्हाफुकी पनि सम्मानित हुने जनाइएको छ ।

सम्मेलनमा पुराना तथा नयाँ नयाँ साहित्यकार तथा साहित्यप्रेमीहरूले आ–आफनो कविता, कथा र निबन्ध वाचन गर्ने छन् । बिच–बिचमा राजनीतिज्ञ, विभिन्न विषयका ज्ञाता, अनुभवी तथा विशेष अतिथिहरूले आ–आफनो अनुभव र ज्ञानबारे जानकारी दिनेछन् । यस क्रममा साहित्यकार मोहन दुवाल, हरिहर तिमल्सिनालगायतले पनि मन्तव्य राखेका छन् । यस्तै पूर्र्व न्यायाधिस गौरीबहादुर कार्की, इन्जिनियर रामविन्दु श्रेष्ठलगायतले पनि मन्तव्य राखेका छन् ।

सम्मेलनको पहिलो दिन नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशकुमार चिकंबन्जार, आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजु र दोस्रो दिन तःमुंज्याका सचिव नरेश खत्री र आयोजक समितिका उपाध्यक्ष लक्ष्मीप्रसाद चवालले मन्तव्य दिने कार्यक्रम रहेको जनाइएको छ । सम्मेलनमा आयोजक समितिका सचिव सञ्जय मानन्धरले धन्यवाद तथा कोषाध्यक्ष नातिभाइ ह्योम्बाले भोलि आय–व्यय प्रस्तुत गर्ने कायृक्रम रहेको जनाइएको छ । बेलुका विभिन्न नृत्य, ख्याल (व्यङ्ग्य) र एकाङ्की नाटक प्रस्तुत हुनेछ ।

सम्मेलनमा स्वागत गीत राजेश हाडाको लयमा रवि हाडा, लक्ष्मण पलिखेल र अन्य साथीहरूको स्वरमा भएको थियो ।

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?