वीरगञ्ज– प्रहरीमाथि गोली प्रहार गर्ने एकजना भारतीय नागरिकलाई हतियारसहित बारा प्रहरीले बुधबार पक्राउ गरेको छ। प्रहरीले भारतको बिहारको मोतिहारी पूर्वी चम्पारण दुधिअवा बस्ने २८ वर्षका बृजकिशोर कुशवाहालाई अटोमेटिक पेस्तोलसहित पक्राउ गरेको हो। पेस्तोलसहित पक्राउ परेका कुशवाहा भारतबाट नेपाल आउँदै गरेको बेला सिम्रौनगढ नगरपालिका ९ सानो बंकुलस्थित प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरी टोलीलाई देखेपछि प्रहरीमाथि नै गोली प्रहार गरेका थिए।
तर उनले चलाएको गोली कसैलाई पनि नलागेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। प्रहरीमाथि गोली चलाएर भाग्दै गरेका कुशवाहालाई एक राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको मिश्रले बताए। ‘प्रहरीलाई देखेपछि कुशवाहाले नै गोली चलाएका थिए। कसैलाई त्यो गोली लागेन,’ मिश्रले भने, ‘पछि भाग्दै गरेका कुशवाहालाई प्रहरीले गोली हानेर नै हतियारसहित नियन्त्रणमा लियो।’
कुशवाहाको बाँया पाखुरामा प्रहरीले चलाएको गोली लागेको उनले बताए। उनको साथबाट प्रहरीले पेस्तोल १ थान , म्याग्जिनमा लोड राउण्ड ४ र चेम्बेरमा लोड रहेको फायर मिस भएको १ राउण्ड गरी ५ राउण्ड गोली बरामद गरेको छ। कुशवाहालाई उपचार पश्चात जिल्ला प्रहरी कार्यालयमा राखिएको तथा उनले किन गोली चलाए भन्नेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।