Tuesday, October 22, 2024

ट्रेन्डिङ :

नारायणगढ-बुटवल सडक : विस्तारको सात वर्षमा पनि अवस्था उस्तै

मीना कँडेल

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको काममा ढिलासुस्ती भएको भन्दै स्थानीयले सडक अवरुद्ध गर्ने चेतावनी दिएका छन् । नारायणगढ–बुटवल सडकको यात्रा सात वर्ष पुग्दा समेत अवस्था उस्तै छ ।

समयमा मर्मत नगर्दा अगाडिको सवारी पनि देख्न नसक्ने गरेर उडेको धुलोले यात्रुलाई निकै सास्ती छ । नारायणगढ बुटवल सडकखण्डमा दाउन्नेबाट पूर्वतर्फभन्दा दाउन्नेबाट पश्चिमतर्फको खण्डमा बढी जोखिम देखिएको छ ।

सडकको धुलोले फोक्सोको समस्या देखिन थालेको, धुलोका कारण बजार नै बन्द गर्नुपर्नेलगायत समस्या देखिएको भन्दै सडक अवरुद्ध गर्न आफूहरु बाध्य हुने स्थानीय दुर्गा रिजालले बताउनुभयो । दिउँसो नै बत्ती बालेर हिँड्नुपर्ने अवस्था छ । सडक विस्तारको क्रममा खनिएका खाडल, लामो पुल नजिक रहेका ठाउँमा कालोपत्र नहुँदा मोटरसाइकलमा यात्रा गर्नेहरू धुलोले चिन्न नसकिने अवस्थामा यात्रा गरिरहेको रिजाल बताउनुहुन्छ ।

स्थानीय कमलचन्द्र सिग्देलले सडककै कारण व्यापार पनि ठप्प भएको विभिन्न रोगव्याधी निम्त्याएकोले छिटो निमार्ण गर्न दबाब दिनका लागि आफूहरु सडक अवरुद्ध गर्नेदेखि थप आन्दोलनका कार्यक्रममा जाने समेत बताउनुभयो । विस्तारको क्रममा रहेको नारायणगढ बुटवल सडकखण्डको एक सय १४ किलोमिटर दूरी पार गर्न सार्वजनिक सवारीसाधनलाई कम्तीमा चार घण्टा लाग्ने गरेको छ ।

२०७५ चैतमा काम सुरु गरेर २०७९ साउनमा निर्माण सम्पन्न हुनुपर्ने थियो ।  कोरोनाकालमा निर्माण सामग्रीको कारण देखाएर पहिलो पटक २०८० साउन ११ गते सम्मका लागि म्याद थप भएको थियो । पहिलो पटक थप भएको म्यादमा पनि कामले गति नलिएपछि दोस्रो पटकका लागि २०८१ साउन ८ गते सम्म म्याद थप गरेको थियो । तर दोस्रो पटक पनि काम सम्पन्न नभएपछि तेस्रो पटकका लागि २०८२ साउन ८ गतेसम्मका लागि म्याद थप भएको छ।

नारायणगढ–बुटवल सडक खण्डको हालसम्म ५३ प्रतिशत कार्य प्रगति भएको छ । नारायणगढ देखि दाउन्ने सम्म एकतर्फी ३२ किलोमिटर कालोपत्र गरिएको इन्जिनियर शिव खनालले बताउनुभयो । बर्खा लागेर छोडिएको निमार्ण कार्य अझै सुचारु हुन नसकेको उहाँले बताउनुभयो । बाटोमा सामान्य मर्मतका कार्य दसैं अघि भए तापनि अहिले केही नभएको र तिहारपछि सुरु गर्ने योजनामा रहेको इन्जिनियर खनालले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले सडक विस्तारको काम निकै ढिला भएको महसुस गरेर आफूले सक्दो पहल गरिरहेको र सम्वन्धित पक्षसंग थप तदारुकताका साथ छलफल गरी समस्याको समाधानमा लाग्ने बताउनुभयो  । सामान्य पानी पर्दा पनि यहाँ अन्य क्षेत्रको पानी बगेर आउने भएकोले हिलाम्य हुने गरेको छ भने घाम लाग्दा धुलाम्य हुने गरेको छ ।

साभार : गोरखापत्र अनलाइन 

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा समाचार

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?