Thursday, November 14, 2024
spot_img

ट्रेन्डिङ :

गढीमाई मेला: ‘नर बली’ पछि मात्र हुन्छ पशु बली

spot_img
spot_img

सञ्जय मिश्रा, रौतहट । विश्व प्रसिद्ध बारास्थित गढीमाई पन्चवर्षीय मेलामा देवीलाई नर बली दिएपछि मात्र सुरु हुन्छ पशु बली । मन्दिरमा पशु बली सुरु हुनु अघि नर बली अर्थात मन्दिरका मुख्य तान्त्रिकको शरिरको ५ स्थानबाट रगत निकालेर देवी चढाउने परम्परा पूरा भएपछि मात्र पशु बली दिइने चलन रहेको छ। मानवको शरीरबाट रगत निकालेर चढाउने परम्परालाई नर वली भनिन्छ ।

पूर्व कालदेखि नै रौतहटको गुजरा नगरपालिका सिमरी गाउँका मूल तान्त्रिक दुखन धामी कछडिया,मूल पुजारी मंगल चौधरीसंग मिलेर गढीमाईको विशेष पुजा आराधाना गरेर धामीले आफ्नो शरीरको पाँच स्थानबाट रगत निकाली नर वली स्वरुप  चढाउँदै आएका छन् ।

मूल तान्त्रिक धामीको केही समय अघि निधन भएपछि मान्यता अनुसार यस पटक उनको जेष्ठ छोरा उमाशंकर धामी कछाडियाले मूल तान्त्रिकको रुपमा आफ्नो सरीरको ५ स्थानबाट रगत निकालेर गढीमाई लाई चढाउने बताएका छन्। त्यस अघि मन्दिरमा रातभरी पुजा हुन्छ । पुजा, आराधनाको प्रभावले ब्रह्मस्थानमा आफै बत्ती बल्छ, बत्ति बलेपछि मात्र पञ्चबलि हुने मुल पुजारी मंगल चौधरीले जानकारी दिएका छन् ।

त्यसपछि मङ्सिर २३ गते तान्त्रिक विधिबाट दिप प्रज्वलन गरि गढीमाई मन्दिरको पूर्व पट्टी रहेको ब्रम्हबाबाको मन्दिरमा पंन्च बली दिएपछि बलीको शुरुवात हुने गरेको गढीमाई मन्दिरका मुल पुजारी मङ्गल चौधरीले जानकारी दिएका छन्।

मन्दिरका मुल पुजारीले तान्त्रिक विधिद्धारा सेतो मुसा, परेवा, हाँस, सुङ्गुर र राँगा  गरी पन्चवली दिएपछि मन्दिरमा सर्वसाधारणको लागि वली खुल्ला हुने मन्दिरका मुल पुजारी मंगल चौधरीले बताएका छन्।

परम्परा र मान्यता अनुसार हिन्दू धर्म संस्कृतिमा पशु बलिलाई शक्तिसग जोडेर हेर्ने प्रचलन सदियौदेखि रही आएको छ ।

शक्ति स्वरुपा देवीलाई खुसी पार्न परापूर्वकालदेखि नैं बलि अनिवार्य भएको मानिदै आएको छ । हरेक पाँच वर्षमा लाग्ने गढीमाई मेला यस पटक गत असोज १७ गते घटस्थापनाको दिनदेखि विधिवत रुपमा सुरु भएको छ । यस पटकदेखि बिश्व प्रसिध्द गढीमाई मन्दिरमा बिशेष पूजाको ब्यवस्था गरिएको छ।  गढीमाई मन्दिरमा सुरु भएको पंचवर्षीय मेलामा दर्शन गर्न आउने भक्तजनको सुबिधाको लागी पहिलो पटक सशुल्क बिशेष पूजाको ब्यवस्था गरिएको हो ।

विशेष पूजाका लागि प्रति व्यक्ति पाँचसय रुपैयाँ शुल्क निर्धारण गरिएको छ। बिशेष पूजा गर्न टिकट काट्नेलाई दर्शन र पूजा गर्न सहज हुने मेला समितिले जनाएको छ।मेलाको मुख्य आकर्षण पशु बलि अगामी मंसिर महिनामा तय गरिएको छ । महागढीमाई नगरपालिकाका मेयर एवं मेला सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले  मन्दिरमा विशेष पूजाका लागि यो शुल्क निर्धारण गरिएको जानकारी दिएका छन् ।

मन्दिर सञ्चालन तथा विकास समिति, मेला सञ्चालन समिति र मन्दिरका पूजारीहरूको संयुक्त बैठकपछि निर्णय गरिएको थियो।

गढीमाईको मूर्ति स्पर्श गरी पूजापाठ गर्न इच्छुक भक्तजनहरूका लागि मात्रै शुल्क लाग्ने तथा सर्वसाधारणका लागि कुनै शुल्क नलाग्ने मेला समितिले जनाएको छ । भारतको महत्वपूर्ण मन्दिरहरूमा पनि बिशेष पूजाको लागि शुल्क लिने गरिएको उदाहरण दिँदै अध्यक्ष यादवले यसलाई वादविवादको बिषय नबनाउन मेयर यादवले आग्रह गरेका छन्।

विश्व प्रसिद्ध गढीमाई मन्दिरमा सन्तान प्राप्ति, असाध्य रोग निको पार्न, सुस्वास्थ र दीर्घायुको, धनधान्य प्राप्ति तथा ईच्छा पुरा गर्न  भाकल गर्नेहरुले बली दिने गरेको मेला समितिले जनाएको छ।

अघिल्लो मेलामा ३५ हजार भन्दा बढी राँगा र हजारौंको संख्यामा बोकाको बलि दिइएको थियो । बोका, राँगाको बलि नदिने भक्तजनहरुले मन्दिर छेउमै परेवा उडाउने गर्छन् ।

मेलाको सम्पुर्ण तयारी अघि  बढिरहेको  मेला समितिका अध्यक्ष मेयर उपेन्द्र यादवले भारत बाहेक अन्य २० देखि २५ मुलुकका दर्शनार्थीहरुले समेत मेलामा भाग लिने जानकारी दिएका छन् ।

दर्शनार्थीहरुका लागि बास, न्यान्योका लागि ठाउँ-ठाउँमा दाउरा बाल्ने, सडक निर्माण, २७ वटा घुम्ती शौचालय, १ हजार अस्थाई शौचालय निर्माण, बिजुली बत्तीको भरपुर व्यवस्था, शुद्ध खानेपानी, , भन्सारमा भारतीय गाडीहरूलाई सहज रुपमा  प्रवेश ,  महिला र पुरुषका लागि छुट्टा छुट्टै दर्शन गर्न लाइनको व्यवस्था सँगै हजारौँको सङ्ख्यामा स्वयं सेवक  परिचालन गर्ने मेला समितिका अध्यक्ष यादवले बताए ।

एक महिनासम्म लाग्ने मेलामा नेपाल भारत लगायत सार्क राष्ट्रका श्रद्धालुहरू दर्शन गर्न आउने गर्दछन्।  पशु बलिको रिपोर्टिङ गर्न संसारकै ठूला मिडियाका रिपोर्टरहरु गढीमाई केन्द्रित हुने गर्दछन ।

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?