काठमाडौं- नागढुंगादेखि सिस्नेखोलासम्मको सडकखण्ड आजबाट आंशिक रुपमा बन्द भएको छ।
नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाका अनुसार आगामी मंसिर ५ गतेसम्म दैनिक बिहान ११ देखि दिउँसो २ बजेसम्म सडक बन्द रहने भएको हो।
धादिङतर्फ सुरुङको मुखमा स्लोप कटिङको काम गर्नुपर्ने भएकाले उक्त अवधिभर उक्त सडकखण्ड आंशिक रुपमा बन्द रहने आयोजनाले जानकारी दिएको छ।
सुरुङ मार्ग अगाडिको सय मिटर क्षेत्रमा स्लोप कटिङको काम हुने भएकाले तोकिएको समयभरि २० मिनेट दुईतर्फी सडक बन्द रहने, फेरि २० मिनेट खोल्दै काम गरिने आयोजनाले बताएको छ।
साथै, आयोजनाले यस क्रममा सवारी साधन रोक्दा र चलाउँदा लेन अनुशासन कायम राख्न अनुरोध गर्दै मिलेसम्म सो समयमा वैकल्पिक सडक प्रयोग गर्न पनि आग्रह गरेको छ।