Saturday, November 16, 2024
spot_img

ट्रेन्डिङ :

कार्वन उत्सर्जन गर्ने राष्ट्रहरुले असरको क्षतिपूर्ति दिनुपर्छ

spot_img
spot_img

राष्ट्रिय सभाका सदस्य डा. अन्जान शाक्यले बढ्दो हरितगृह ग्याँसको उत्सर्जन लगायतका कारण नेपालले जलवायु परिवर्तनजन्य असर निरन्तर भोग्नु परेको भन्दै यसको क्षतिपूर्ति पाउनु पर्ने प्रस्ताव राख्नु भएको छ ।

अरजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि युएनएफसीसीसीका पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) ‘न्यायसंगत र समतामूलक ऊर्जा संक्रमणका लागि रूपान्तरणात्मक विधायी’ वहसमा आफ्ना धारणा राख्दै शाक्यले यस्तो प्रस्ताव राख्नु भएको हो ।

उहाँले जीवाश्म इन्धन निर्भरता घटाउने र जीवाश्म मुक्त भविष्यका लागि समतापूर्ण ऊर्जा पहुँच सुनिश्चित गर्नेतर्फ विश्व समुदायको ध्यान केन्द्रित हुनुपर्नेमा पनि जोड दिनुभयो । उहाँले मानव सिर्जित समस्या  प्रकृतिक स्रोतको अत्यधिक दोहन, ऊर्जाको अत्यधिक प्रयोग, बढ्दो औद्योगिकीकरण लगायतले जलवायु परिवर्तनमा भूमिका खेलेको र त्यसले प्राकृतिक प्रकोपका साथै जलवायुजन्य विपद्ले मानव जीवनमा गम्भीर असर गरिरहेको उल्लेख गर्नुभयो ।

‘अधिक उत्पादन गर्ने देशहरुले औधिगिक क्रान्तिकालदेखि नै बायुमण्डललाई प्रदुषण गर्दै आएका छन्’ उहाँले भन्नुभयो, ‘नेपालले हरित हाइड्रोजन र नवीकरणीय उर्जामा आफूलाई बढी केन्द्रित हुनुपर्ने मुद्दा नेपालले उठान गरेको छ । प्रदुषण गर्ने  सुचीमा नेपाल धेरै तल रहे पनि नेपालले अरु मुलुकभन्दा द्रूत गतिमा क्षति व्यहोर्नु परिरहेको छ ।’

डा. शाक्यले चाँदीझैँ टलक्क टल्कने नेपालका सेता हिमाल कालापत्थरमा परिणत हुँदैगएको भन्दै जलवायु परिवर्तनको असरका कारण नेपालका हिमाल  उराठलाग्दो बन्न थालेको र यसले समग्र र जलवायुजन्य विपद्का कारण बसाईसराई बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले प्रश्न गर्नुभयो,  ‘ठूला उद्योग भएका देशहरुले गरेको कार्वन उत्सर्जनका कारण हामीले कहिले हिमपहिरोको सिकार हुनुपरेको छ भने कहिले भारी वर्षाले ल्याउने विपद्बाट तर्सिरहनु पर्ने अवस्था छ । सुख्खाका कारण उत्पादन घटिरहेको छ । हामीले नगरेको गल्ती कहिलेसम्म भोगिरहने ?’

नेपालले हरियाली प्रवर्धन गर्दै जाने अनि ठूला र सम्पन्न मुलुकहरुले उद्योग सञ्चालनका नाममा कार्वन उत्सर्जन गर्दै जाने हो भने न्यायसंगत र समतामूलक नहुनेमा पनि उहाँले जोड दिनुभयो । उहाँले केही महिना पहिला नेपालले जलवायु परिवर्तनका कारण हिम पहिरोको समस्या झेल्नु परेको र ठूलो विपद्को सामना गर्नुपरेको कुरालाई स्मरण गराउँदै जलवायु परिवर्तन गराउन मुख्य भूमिका खेल्ने मुलुकबाट  ‘जलवायु वित्त’  को माग पनि गर्नुभयो ।

‘नेपालले भोगिरहेको हानी नोक्शानीको क्षतिको क्षतिपुर्ति बढी मात्रामा कार्वन उत्सर्जन गर्ने राष्ट्रहरुले दिनुपर्छ’ उहाँले भन्नुभयो । बहसमा नेपालसँगै इजिप्ट, बोलिभिया, युगान्डा, कोलम्बिया, क्यानडा, केन्यालगायतका देशका सांसद र सो क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियो । – गोरखापत्र अनलाइन 

spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?