थिम्पु, १९ मंसिर । भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुक बिहीबार नयाँ दिल्ली पुग्दैछन् ।
भ्रमणका क्रममा वाङचुकले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । साथै, बिदेश मन्त्री एस जयशंकरले पनि भेट्ने कार्यक्रम तय भएको छ ।
भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे १५ दिनअघि मात्र नयाँ दिल्ली पुगेका थिए । त्यस क्रममा उनले प्रधानमन्त्री मोदीसँग पनि भेट गरेका थिए । प्रधानमन्त्री मोदीले भुटानलाई भारतको विशेष मित्र भनेका थिए ।
यसैबीच भारतका लागि चिनियाँ राजदूत सु फेइहोङले गत महिना भुटानको राजधानी थिम्पुको भ्रमण गरेका थिए ।
वास्तवमा सन् १९४९ मा भारत र भुटानबीच भएको विशेष सम्झौताका कारण छिमेकी राष्ट्र भारतसँग परामर्श नगरी आफ्नो परराष्ट्र र रक्षा नीतिमा अगाडि बढ्न भुटानले अझै पनि सक्दैन् । तर, चीन भुटानसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न चाहन्छ । त्यसका लागि भुटानले बिशेष सहमतिले बाँधिएको भारतको अनुमति लिन खोजिरहेको छ ।
हालसम्म पनि भुटान र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध नहुनुको कारण यही रहेको छ ।चीनले भुटानसँगको सीमा विवादलाई जतिसक्दो चाँडो समाधान गर्न चाहन्छ । यस विषयमा दुई देशबीच पटकपटक वार्ता भइसकेको छ तर यो सम्पूर्ण अभ्यासमा भारतको भूमिका निकै महत्वपूर्ण छ ।
चीन र भुटानबीचको सीमा विवादको प्रत्यक्ष असर भारतलाई परेको छ । अन्तराष्ट्रिय सिमानामा धेरै ठाउँहरू यस्ता पनि छन् कि जुन त्रिभुज भित्र रहेका छन र त केही ठाउँमा तीनवटै देशको सिमाना रहेको छ । यस्तो अवस्थामा सम्पूर्ण क्षेत्र संवेदनशील बन्दै गएको छ ।
यस्तै विवाद सन २०१७ मा डोकलामको थियो। चीनले डोकलामको त्रिजंक्शन क्षेत्रमा सडक निर्माणको काम सुरु गरेको थियो । यसलाई रोक्न भारतीय सेना त्यहाँ पुग्यो र लामो समयसम्म भिडन्तको स्थिति जारी रह्यो ।
तर अहिले भारत– चीनबीचको विवादित क्षेत्र एलएसीबाट सेना फिर्ता गर्ने घोषणाले यस सम्पूर्ण क्षेत्रमा सीमा विवाद समाधान हुने ठूलो आशा जगाएको छ । यसै सन्दर्भमा चीन र भुटानबीच पनि सीमा विवाद छ । तर, भारतको सहमतिबिना भुटानले यस दिशामा कुनै कदम चाल्न सक्दैन । जसका कारण थिम्पुवाट राजा र प्रधानमन्त्रीको भारत भ्रमण भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।