Sunday, December 22, 2024
spot_img

ट्रेन्डिङ :

नेपथ्यबाट चलाइएको हल्लामा सत्यता छैन : मन्त्री गुरुङ

spot_img
spot_img
spot_img

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको स्थायित्वबारे नेपथ्यबाट चलाइएको हल्लामा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरुङले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचको सहमतिमा गठन भएको वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्म तलमाथि नभई निर्बाध रुपमा सञ्चालन हुने बताउनुभयो ।

“नेपाली कांग्रेस र एमालेको सदनमा एक सय ६७ सिट सङ्ख्या छ । बहुमतका लागि अरू दल खोज्न परेन । राष्ट्रिय सङ्कट समाधानका लगि मिल्नुपर्छ भन्ने प्रमुख दुई दलबीचमा समान बुझाइ रहुन्जेल सरकार कसैले चाहँदैमा फेरबदल हुँदैन”, मन्त्री गुरुङले भन्नुभयो ।

विभिन्न क्षेत्रमा बिगँ्रदै र भत्कँदै गएको अवस्थालाई सरकारले नियन्त्रणमा लिई मुलुकलाई असफल हुनबाट बचाएको अवस्था रहेको उल्लेख गर्दै उहाँले सामाजिक क्षेत्रमा देखिएको असहिष्णुताको वातावरण हटाउनसमेत सफल भएको स्पष्ट पार्नुभयो । मन्त्री गुरुङले भन्नुभयो, “कांग्रेस र एमालेबीच बनेको सहमतिअनुसार २०४८ साल, २०५६ र २०६४ सालमा जस्तै दुई दलबीच सरकार चलाउने तथा आपसमा चुनावी प्रतिस्पर्धा गर्दै २०८४ सालको चुनाव सम्पन्न गरिनेछ ।”

मुलुकमा राजनीतिक अस्थिरताका कारण नीतिगत अस्पष्टता, लक्ष्यअनुरुप बजेट कार्यान्वयन र राजस्व सङ्कलन नहुँदा राष्ट्रिय गौरवको आयोजना समयमा पूरा हुन नसकेको मात्र नभई व्यापार घाटा बढ्नाका साथै निर्माण सामग्री आयात ठप्प हुन गई सङ्कटपूर्ण परिस्थितिमा वर्तमान सरकार गठन गरिएको मन्त्री गुरुङले प्रसङ्ग उल्लेख गर्नुभयो ।

राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान गरेका कांग्रेस र एमालेले मिलेर सरकार गठन गर्नुको कारण र औचित्य प्रष्ट पार्दै उहाँले राजनीतिक स्थिरता र सुशासन कायम गरी शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकार लागि परेको बताउनुभयो ।

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने विषय संसदीय प्रणालीमा विरलै हुने घटना भए पनि सरकारले विकास, समृद्धि र स्थिरताको मूलभूत दायित्व पूरा गर्ने विश्वास दिलाउनुभयो । मन्त्री गुरुङले भन्नुभयो, “देशको राजनीतिक परिघटनामा प्रमुख राजनीतिक दल मिलेर सङ्कटको समाधान गर्दै आएको इतिहास छ ।

अहिले पनि विभिन्न क्षेत्रमा देखिएका समस्या र राजनीतिक अस्थिरता अन्त्य गर्न वर्तमान सरकार गठन भएको हो । उद्देश्य र लक्ष्य पूरा गर्नेछ ।”

spot_img
spot_img

तपाईको टिप्पणी

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भयो कि ?