काठमाडौं- नेपालको संघीय सांसदहरूको सुधारिएको नयाँ लोगो तयार भएको छ । सांसदहरुले आएर नयाँ लोगो लैजान सक्ने संसद सचिवालयले बताएको छ । संसद सचिवालयले साउन अन्तिम साता लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नेपालका नयाँ नक्सा भएको लागो बनाएको थियो । तर निक्कै भद्दा भएको भन्दै चौतर्फी आलोचना भएपछि संसद सचिवालयले लागो बनाउने घरेलु तथा साना उद्योग कार्यालयलाई नै फिर्ता गरेको थियो ।
अहिले सुधारिएको लोगो आएको छ । ‘नयाँ लागो बनाउन लागेको खर्च पहिले जसले बनाएको थियो, उसैले व्यहोरेको छ’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने । उनका अनुसार नयाँ लोगो सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लगाउन थालेका छन् भने संसदहरुले पनि लैजान सक्नेछन् ।