हुम्ला- हिमालपारिको गाउँको तुम्लिङमा रहेको चौँरी स्रोत केन्द्रमा दुई वर्षमा चौरीको सङ्ख्या शतप्रतिशतले वृद्धि भएको छ । स्रोत केन्द्रमा उन्नत याकको व्यवस्था हुँदा सबै चौँरी गाई ब्याएपछि सङ्ख्यामा वृद्धि भएको हो । चौँरी स्रोत केन्द्र व्यवस्थापन समितिका अध्यक्ष छिरिङ तामाङले स्थापना भएको दुई वर्षमै ११५ वटा चौरीको सङ्ख्या पुगेको बताउनुभयो ।
सुरुमा स्रोत केन्द्रमा ६३ वटा चौँरी थिए । उहाँले छोटो अवधिमा यसरी चौँरीको सङ्ख्या वृद्धि हुनुमा उन्नत याकको व्यवस्थाले सबै चौँरी गाई ब्याएका कारण यो सम्भव भएको बताउनुभयो । अर्को कुरा चौँरीका हेरालुको पनि व्यवस्थाले पनि यसरी चौँरीको सङ्ख्या वृद्धि हुनुमा महत्वपूर्ण सहयोग
गरेको हो ।
चौरीको सङ्ख्या वृद्धि भएसँगै व्यावसायिक चौँरीपालनको सम्भावना बढेको छ । हल्जी र जाङ गाउँका स्थानीयवासीले सामूहिक रूपमा चौँरी स्रोत केन्द्रलाई सहयोग गर्दै आएका छन् । चाँैरीपालन व्यवसाय सङ्कटमा परेपछि कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा एक करोडको चौँरी स्रोत केन्द्र स्थापना भएको थियो । स्रोत केन्द्रमा चौँरीको सङ्ख्या वृद्धिसँगै छुर्पी र घिउ पनि उत्पादन भएर बिक्री हुन थालेको छ ।