काठमाडौं : कात्तिक २०, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई काम गर्न नदिएकाले मुलुक गम्भीर मोडमा पुगेको बताएका छन् । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई ब्रिफिङ गर्दै सरकारमाथि पार्टीभित्र र बाहिर दुवैतिरबाट हमला हुँदा सोचेजति काम गर्न नसकिएको बताएका हुन् । पार्टी भित्रैबाट पनि सहयोग भएन । घेराबन्दी गरिन्छ, राजीनामा मागिन्छ । काम गर्न दिइँदैन । तर म राजीनामा दिने पक्षमा अझै छैन । कुनै हालतमा म पछि हट्दिन । पार्टीभित्रबाट असहयोग हुँदा सोचेजति काम गर्न सकिएन । अस्थिरता निम्त्याउने काम मात्रै भयो । जसले मुलुक नै गम्भीर मोडमा पुगेको छ, प्रधानमन्त्रीले मन्त्रीहरुसँगको भेटमा भने ।
बिहीबारको मन्त्रिपरिषद् बैठकमा खासै महत्त्वपूर्ण निर्णयहरु नभएपनि प्रधानमन्त्री ओलीले लामो कुरा सुनाएको बैठकमा सहभागी अर्का मन्त्रीले बताए । ‘खासै त्यस्ता केही निर्णयहरु त भएनन् तर प्रधानमन्त्रीज्यूले समसामयिक विषयहरुमा आफ्ना कुराहरु राख्नुभयो । खासगरी उहाँले आफ्नो राजीनामा मागेर अस्थिरता निम्त्याउन खोजिएको भनेर ब्रिफिङ गर्नुभयो । त्यो सुनेर फर्केका छौ’ ती मन्त्रीले भने ।
सत्तारुढ दल नेकपाभित्र विवाद र अन्तरविरोध चर्कदै गएका बेला यसअघि पनि अध्यक्ष समेत रहेका ओलीले विना प्रसंगका यस्ता अभिव्यक्तिहरु दिएर विषयान्तर गर्ने गरेका थिए । नेकपाका एक नेता भन्छन्, ‘ओली एउटा झुट छोप्न अर्को झुट बोल्छन् । त्यसैले उनको बोलीको ठेगान नै हुन छाडेको छ ।’