काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आज बुधबार दश बजे संखुवासभा पुग्ने कार्यक्रम छ । पार्टीभित्रको आन्तरिक किचलो बढिरहेका बेला उपत्यका बाहिर निस्किएका प्रधानमन्त्रीको विशेष कार्यक्रम भने छैन । उनले सडक र जलविद्युत आयोजनाको निरीक्षण तथा स्थानीय जनप्रतिनिधिसँग छलफल गर्नेछन् ।
संखुवासभामा प्रधानमन्त्री सहभागी हुने तीनवटा कार्यक्रम तय भएको छ । श्रोतका अनुसार पहिलो कार्यक्रम भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा राखिएको छ । प्रधानमन्त्री ओलीले किमाथाङ्कामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)को निरीक्षण गर्नेछन् । त्यसपछि स्थानीय जनप्रतिनिधि र किमाथाङ्काका बासिन्दासँग छलफल गर्नेछन् ।
किथामाङ्काबाट १०ः३६ मा भोटखोला ३ मा पर्ने च्यान्ताङ भन्ने स्थानमा जानेछन् । च्यान्ताङमा निर्माणाधीन विराटनगर–किमाथाङ्का सडकको निरीक्षण गर्नेछन् । च्यान्ताङमा त्रिदेशीय महत्वको सडकको निर्माण प्रगतीबारे उनले जानकारी लिनेछन् । स्थानीय र जनप्रतिनिधीसँग पनि छलफल गर्नेछन् । च्यान्ताङ पछि १ः३० बजे भने प्रधानमन्त्री ओली अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम निर्माणस्थल पुग्ने बताइएको छ । मकालु गाउँपालिका–५ मा पर्ने फ्याक्सिल्लामा आयोजनाको ड्याम बनिरहेको छ ।
ड्यामको निरीक्षण पछि प्रधानमन्त्री ओलीले निर्माणको प्रगतिबारे ब्रिफिङ लिनेछन् । राष्ट्रिय गौरवको आयोजना अरुण तेस्रोको ड्यामस्थलमा प्रधानमन्त्री ओलीले दुई घण्टा बिताउने कार्यतालिका बनाइएको छ ।