काठमाडौं, ८ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलिसम्मको लागि स्थगित भएको छ । हिजोदेखि जारी केन्द्रीय समितिको बैठकमा बुधबार (आज) चार नेताले आ–आफ्नो धारणा राखेसँगै भोलिसम्मका लागि स्थगित भएको हो ।
केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेसँगै संस्थागत धारणा बनाउने बताइएको छ । आजको बैठकमा रामशरण महत, बलबहादुर केसी, गगनकुमार थापा र आनन्द ढुंगानाले आ–आफ्नो धारणा व्यक्त गरे ।
त्यस्तै, हिजोको बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले आ–आफ्नो धारणा राखेका थिए ।
ओलीले संसद् विघटन गरेसँगै कांग्रेस पनि दुई धारमा विभाजित छ । हिजोको बैठकमा सभापति देउवाले निर्वाचनमा जानुपर्ने बताएका थिए । तर, पौडेलले भने संसद् विघटनको विरोधमा सडकमा उत्रिनुपर्ने बताएका थिए ।
त्यस्तै, नेता पौडेलले संसद विघटन अलोकतान्त्रिक र असंबैधानिक भएको बताउँदै सडकमा उत्रिनुपर्ने धारणा राखेका थिए ।
तर, सभापति देउवाले भने संसद विघटनबारे परेको रिटमा सर्वोच्च अदालतको आदेश र नेकपाको आधिकारिकताको प्रश्नमा निर्वाचन आयोगको निर्णय पर्खिनुपर्ने बताएका थिए ।