काठमाडौं : पुस १४, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपीले संविधानमा हुँदै नभएको व्यवस्थालाई प्रयोग गरेर प्रतिनिधिसभा विघटनको प्रस्ताव गर्नु गलत रहेको बताएका छन् । पार्टीद्वारा मंगलबार आयोजित देशव्यापी विरोध प्रदर्शनका क्रममा काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
उनले अगाडि भने, ‘केपी ओलीले इतिहासमा कलंकको टीका लगाएका छन्, त्यो कहिल्यै मेटिने छैन । आफैले बनाएको संविधानको बलात्कार गरेँ भनेर उनले आफैले नभनेसम्म इतिहासले र नेपाली जनताले माफी दिने छैनन् ।’
सिंगो देशले यो कदम असंवैधानिक, अलोकतान्त्रिक कदम हो भनेर भनिसकेको प्रचण्डले बताए । देशभर भएको प्रदर्शन जनताले गरेको सहजीकरण हो भन्ने रुपमा बुझिदिन पनि उनले आग्रह गरे । उनले आन्दोलनको सुरुवातमात्र भएको पनि बताए ।
संविधानमाथिको यो निर्मम प्रहारलाई सच्याउने कोसिस गरिएन भने भोलि आँधीहुरी आउने चेतावनी पनि उनले दिए । नेपाली जनतामा जागरण र चेतनाको नयाँ युग प्रारम्भ भएको उल्लेख गर्दै उनले ‘प्रतिगमनकारी’लाई खबरदारीसमेत गरे । अध्यक्ष ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओली परिवर्तनका पक्षधर होइनन् भन्ने आफूलाई थाहा भएर पनि पार्टी एकता गरेकोमा क्षमायाचना गरे ।
कम्युनिस्ट पार्टीलाई मत दिएपछि राजनीतिक स्थायित्वको नयाँ युग प्रारम्भ हुनेछ भन्ने जनअपेक्षा रहेको तर नेपाली जनताको अगाडि उभिएर आफूहरुले नै बनाएको, आफ्नै पार्टीले बनाएको प्रधानमन्त्रीबाट त्यो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भयो भनेर भन्नुपर्ने अवस्था आएको बताए ।
‘ओली संघीयता विरोधी, धर्मनिरपेक्षताविरोधी हो भन्ने मलाई थाहा थियो,’ उनले भने, ‘उहाँको मनले मानेको थिएन, तर जनताको आँधीहुरी आएपछि त्यसैमा बगिदिएँ भनेर उहाँले भन्नुहुन्थ्यो प्रचण्डले भने ।